×

मुम्बई — भारतीय फिल्म क्षेत्रमा झन्डै दुई दशक बिताइसकेकी चर्चित अभिनेत्री काजल अग्रवाल अहिले आफ्नो करियरको नयाँ चरणमा छिन्, जहाँ अभिनयसँगै कथाको गाम्भीर्यता र सामाजिक उत्तरदायित्व पनि उनका लागि उत्तिकै महत्वपूर्ण बन्न थालेको छ ।

तेलुगु फिल्म उद्योगकी चर्चित अभिनेत्री काजल त्यहाँ सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । फोर्ब्स ईन्डियाले सन् २०१५ मा निकालेको ‘सेलेब्रिटी १००’ को सूचीमा उनी ५८ औं स्थानमा परेकी थिइन् । सन् २०२२ मा गुगलमा सर्वाधिक खोजिएकी एशियनमध्येमा परेकी उनी इन्स्टाग्राममा सर्वाधिक फलो गरिएकी तेलुगु कलाकारमा पनि पर्छिन् ।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा अभिनेत्री अग्रवालले आफ्नो नयाँ फिल्म ‘द इन्डिया स्टोरी’, करिअर, मातृत्व र फिल्म उद्योगमा उमेरलाई लिएर हुने विभेदबारे खुलेर कुरा गरेकी छन् ।

नायकहरू ७० वर्षको उमेरसम्म पनि मुख्य भूमिकामा देखिने तर नायिकाहरूलाई भने फरक दृष्टिकोणले हेरिने परम्पराबारे सोधिएको प्रश्नमा उनले पछिल्लो समय यसबारेमा फरक धारणा विकास भईरहेको जिकिर गरिन् ।

‘अहिले परिस्थिति र दर्शकको सोच बदलिरहेको छ । महिलाहरूले जीवनको जुनसुकै मोडमा पनि फिल्ममा लीड रोल गरेको दर्शकले सहर्ष स्वीकारिरहेका छन्,’ काजलले थपिन्, ‘म उमेरको पछाडि कहिल्यै दौडिदिनँ, म त चुनौतीपूर्ण र रोचक भूमिकाको खोजीमा हुन्छु । महिलाको कुनै ‘एक्सपायरी डेट’ हुँदैन, न त राम्रा कथाहरूको नै ।’

Women do not have an expiry date: Kajal Aggarwalसन् २००७ मा ‘लक्ष्मी कल्याणम्’ फिल्मबाट अभिनय यात्रा सुरु गरी ‘मगधिरा’, ‘तुप्पाकी’ र ‘स्पेशल २६’ जस्ता हिट फिल्म दिइसकेकी काजलले दक्षिण भारतीय फिल्म उद्योग (साउथ) र हिन्दी फिल्मको कार्यशैलीबारे पनि आफ्ना अनुभव साटेकी छन् ।

‘जब मैले फिल्म खेल्न सुरु गरेकी थिएँ, मसँग ठूला सपनाहरू त थिए तर कुनै फिल्मी पृष्ठभूमि भने थिएन,’ २२ वर्षमा फिल्म क्षेत्रमा प्रवेश गरेकी काजलले थपिन्, ‘फिल्म र अभिनयका बारेमा मैले यो अवधिमा जे जति जानें, त्यो सबै काम गर्दै सिक्दै आएकी हुँ । यो अवधिमा मैले विभिन्न भाषा, विधाका फिल्ममा काम गरेकी छु । हरेक फिल्मले, चाहे त्यो सफल होस् वा नहोस्, मलाई कलाकारका रूपमा एउटा आकार दिएको छ ।’

दुई दशक अवधिमा उनले हिन्दी र साउथमा गरेर पाँच दर्जन भन्दा बढि फिल्ममा काम गरिसकेकी छन् । ‘आज, म मेरो करियरलाई मैले कतिवटा फिल्म गरें भनेर मापन गर्दिनँ, तर म अझै पनि आफ्नो काममा प्रगति भइरहेको छ की छैन, कामप्रति उत्तिकै उत्साहित छु कि छैन र भविष्यमा केही छाप छोड्न सक्ने कथाहरू चुनिरहेकी छु कि छैन भन्ने कुराबाट मापन गर्छु,’ उनले थपिन्, ‘द इन्डिया स्टोरीले मेरो करियरको त्यही चरणलाई प्रतिनिधित्व गर्छ, जहाँ अभिनय जत्तिकै उद्देश्य पनि महत्त्वपूर्ण छ ।’

उनका अनुसार दक्षिण भारतीय उद्योग आफ्नो अनुशासन, योजना र दक्षताका लागि चिनिन्छ भने हिन्दी फिल्म उद्योग कथा वाचनको विविधताका लागि । तर, अहिले यी दुवै क्षेत्रबीचको सीमा घट्दै गएको र सिंगो भारतीय फिल्म एउटै प्रणालीका रूपमा अघि बढिरहेको उनको बुझाइ छ ।

आमा बनेपछिको जीवन

काजलले आमा बनेपछि जीवनको प्राथमिकता पनि फेरिएको बताएकी छन् । झन्डै चार वर्षको छोराकी आमा बनिसकेकी ४१ वर्षिया काजलले अहिले पनि आफ्नो कामप्रतिको लगाव नघटेको जिकिर गर्छिन् । भनिन्, ‘तर आमा बनेपछि कामको छनोट र फिल्मप्रतिको दृष्टिकोण भने अवश्य फेरिएको छ ।’ छोराले पनि अब बाबा जस्तै आमा पनि काममा जान्छे भन्ने बुझ्न थालेकोकोमा खुशी व्यक्त गरिन् ।

Women do not have an expiry date: Kajal Aggarwal

‘द इन्डिया स्टोरी’ र सामाजिक उत्तरदायित्व

खानामा हुने मिसावट, किटनाशक औषधिको अत्यधिक प्रयोग र यसले परिवारको स्वास्थ्यमा पार्ने दीर्घकालीन असरको विषयमा बनेको ‘द इन्डिया स्टोरी’बारे बोल्दै काजलले भनिन्, ‘हामी सबै दैनिक खाना खान्छौं, तर यो कहाँबाट आउँछ र यसमा के मिसाइएको छ भनेर हत्तपत्त सोध्दैनौं । यो फिल्मले मानिसहरूलाई तर्साउनुको सट्टा सचेत र जिम्मेवार बनाउन खोज्नेछ ।’

हरेक फिल्मले सामाजिक सन्देश बोक्नैपर्छ भन्ने नभए पनि यस्ता विषयमा बनेका फिल्मको हिस्सा बन्न पाउनु ठूलो कुरा भएको उनको भनाइ छ । ‘यदि कुनै फिल्मले समाजमा बहस सुरु गराउँछ, प्रश्न सोध्न प्रोत्साहन गर्छ वा एउटै मात्र परिवारको भएपनि खानपानको बानीमा सुधार ल्याउँछ भने पनि त्यो यस फिल्मको ठूलो उपलब्धि हुनेछ,’ काजल भन्छिन्, ‘जब कुनै अर्थपूर्ण कथा तपाईंको अगाडि आउँछ र त्यसलाई राम्रोसँग भनिएको छ भने, मलाई लाग्छ त्यसको हिस्सा बन्नु सार्थक उपलब्धी हो ।’

अन्तमा, उनले ‘द इन्डिया स्टोरी’ हेरेर हलबाट निस्कँदा दर्शकहरूले आफूले आफ्ना परिवारलाई के खुवाइरहेका छौं भनेर एकपटक सोच्न बाध्य हुने विश्वास व्यक्त गरेकी छन् ।

Back to top