×

वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ।

समारोहमा रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष (२०२६–२७) का रूपमा रोटेरियन राकेश मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्। कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

पदस्थापन समारोहमार्फत अध्यक्ष रोटेरियन राकेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति समेत गठन गरिएको छ। नवगठित कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, रोटेरियन गोपाल खेतान तत्कालीन अध्यक्ष,रोटेरियन दीनदयाल केडिया अध्यक्ष–निर्वाचित,रोटेरियन अमित कुमार गुप्ता उपाध्यक्ष, रोटेरियन पियुष गुप्ता सहसचिव, रोटेरियन डा. अमर केयाल कोषाध्यक्ष, रोटेरियन डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, रोटेरियन सोहन पोद्दार क्लब प्रशासन निर्देशक, रोटेरियन अभिषेक चौधरी सदस्यता निर्देशक, रोटेरियन रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा रोटेरियन पूजा खत्री सदस्यता समिति संयोजकको जिम्मेवारी पाएका छन्। साथै अन्य विभिन्न समिति तथा उपसमितिहरूमा समेत सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।

समारोहमा नेपाल तथा भारतका विभिन्न स्थानबाट रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न सामाजिक व्यक्तित्व, उद्योगी, व्यवसायी, पेशाकर्मी तथा आमन्त्रित अतिथिहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले रोटरीका मानवीय सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सबै सदस्यहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवाका विविध कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको आदर्श “सेवा नै सर्वोपरि” भन्ने भावनालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

पदस्थापन समारोहमार्फत निवर्तमान कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममै उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको तथा सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र आपसी भेटघाटका साथ समारोह सम्पन्न भएको थियो।

Back to top