×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन। महानगरले १ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्यको आधाभन्दा कम अर्थात् ६७ करोड ५९ लाख ६४ हजार ८ सय ९८ रुपैयाँ ३९ पैसा मात्रै संकलन गरेको छ। यो कुल लक्ष्यको ३९.७६ प्रतिशत मात्र हो।

महानगरको राजश्व संकलनले आन्तरिक आम्दानी अपेक्षाअनुसार वृद्धि हुन नसकेको देखाएको छ। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा भने राजश्वमा सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा महानगरले ६२ करोड ९३ लाख ८५ हजार ३ सय ४४ रुपैयाँ राजश्व संकलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा करिब ४ करोड ६५ लाख ७९ हजार रुपैयाँ बढी राजश्व संकलन भएको हो।

महानगरको आय शीर्षकअनुसार सबैभन्दा बढी राजश्व सम्पत्ति कर, घरबहाल कर र नक्सापास दस्तुरबाट संकलन भएको छ। सम्पत्ति करबाट १९ करोड ७३ लाख ६ हजार ७ सय ६० रुपैयाँ, घरबहाल करबाट १४ करोड ९ लाख ७३ हजार १ सय ९ रुपैयाँ तथा नक्सापास दस्तुरबाट ४ करोड ६४ लाख ९१ हजार ५ सय ३ रुपैयाँ राजश्व उठेको महानगरले जनाएको छ।

यता, करदाताले भने महानगरले निर्धारण गरेका अधिकांश करका दर उच्च भएकाले सामान्य नागरिकमाथि आर्थिक भार बढेको गुनासो गरेका छन्। शिरोमणिनगरका सञ्जय पटेलले सम्पत्ति कर, घरबहाल करलगायतका करको दर अत्यधिक भएकाले नागरिकलाई कर तिर्न कठिन भइरहेको बताए।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य नै यथार्थपरकभन्दा बढी निर्धारण गरिएकाले लक्ष्यअनुसार राजश्व उठाउन नसकिएको बताए। उनका अनुसार महानगरको मुख्य आयस्रोत रहेको सम्पत्ति करको दायरामा लक्षित सबै करदातालाई समेट्न नसक्नु पनि राजश्व संकलन अपेक्षाअनुसार हुन नसक्नुको अर्को प्रमुख कारण हो।

प्रमुख प्रशासकीय अधिकृत बोहराले चालु आर्थिक वर्षमा राजश्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै करको दायरा विस्तार गर्ने, आन्तरिक स्रोत परिचालन बढाउने तथा राजश्व संकलन सुधार गर्ने योजना अघि सारिएको जानकारी दिए।

 

Back to top