×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिताराम रिजालले शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिएका हुन्।

प्रहरीका अनुसार ८ लाख १३ हजार ५७३ जनसंख्या रहेको रौतहटमा ९०४ जनाको दरबन्दी भए पनि हाल ७७० जना प्रहरी कर्मचारी कार्यरत छन्। यसअनुसार प्रहरी–जनसंख्या अनुपात १ः१,०५६.५८ रहेको छ भने एक प्रहरीले औसत १.४६ वर्ग किलोमिटर क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हालिरहेका छन्। उत्कृष्ट कार्यसम्पादनका आधारमा गत आर्थिक वर्षमा १६२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २८ जनामाथि विभागीय कारबाही र ८६ जनालाई विभिन्न तालिम प्रदान गरिएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धानतर्फ आर्थिक वर्षभर ६९४ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १ हजार १५२ जनालाई प्रतिवादी बनाइएको, ४७२ जनालाई पक्राउ गरिएको तथा बाँकी मुद्दा अनुसन्धानको क्रममा रहेको प्रहरीको तथ्यांक छ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस क्रममा ८४७ केजी ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २६५ एम्पुल तथा १३ हजार ९१६ ट्याब्लेट लागूऔषध बरामद गरिएको छ।

फैसला कार्यान्वयन अभियानमा ४४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जुन निर्धारित लक्ष्यको १००.६७ प्रतिशत रहेको प्रहरीको दाबी छ। पक्राउ परेकामध्ये ७६ वर्ष ११ महिना ११ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिनुका साथै ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना असुल गरिएको छ।

यस अवधिमा ६ थान अवैध हातहतियार र १९ थान गोली बरामद गरी ३ जनालाई पक्राउ गरिएको छ। यस्तै, खोटा मुद्रासम्बन्धी ३ वटा मुद्दा दर्ता गरी १ लाख ३६ हजार रुपैयाँ बराबरका जाली नेपाली नोट बरामद गरिएको तथा ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभर १ हजार ८८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ भने १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ वटा सवारीसाधनमाथि कारबाही गरी १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ४ हजार ८५० ठाडो उजुरीमध्ये ४ हजार ३८० वटा फर्छ्योट गरिएको छ भने ४७० वटा उजुरी प्रक्रियामै रहेका छन्।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ५ वटा मदिरा भट्टी नष्ट गरिएको छ। यस क्रममा १ हजार ५४५ लिटर तयारी मदिरा, २ हजार लिटर कच्चा पदार्थ, २ वटा मदिरा उत्पादन उपकरण, १७ वटा ड्रम तथा भाँडाकुँडा र एउटा सवारीसाधन नष्ट गरिएको प्रहरीले जनाएको छ।

भन्सार छली नियन्त्रण अभियानमा १८ जना व्यक्ति र १५५ वटा सवारीसाधन नियन्त्रणमा लिई ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन लक्ष्यभन्दा ५.२४ प्रतिशत बढी रहेको प्रहरीको दाबी छ। साथै स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जनालाई पक्राउ गरिएको छ।

वन अपराध नियन्त्रण अभियानअन्तर्गत २२२ क्युबिक फिट अवैध काठ बरामद गरिएको छ, जसको राजस्व मूल्य ५ लाख ९५ हजार २२५ रुपैयाँ बराबर रहेको छ। यस प्रकरणमा २ जना तथा ५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। अवैध उत्खनन नियन्त्रण अभियानमा ३० वटा सवारीसाधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्षभर ९५४ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा २४ हजार ३७३ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ। साथै जिल्ला सुरक्षा समितिका चारवटा बैठक सम्पन्न भएका छन्, जसमध्ये एउटा बैठक जुममार्फत आयोजना गरिएको थियो।

सेवा प्रवाहतर्फ गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयबाट १ लाख ३३ हजार ७७४ जनाले विभिन्न सेवा लिएका छन्। तीमध्ये ५१ हजार ३५६ महिला, ८० हजार ९८२ पुरुष, ३५४ बालबालिका, १ हजार ५७ ज्येष्ठ नागरिक तथा २५ जना शारीरिक अशक्त रहेका छन्।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिताराम रिजालले आगामी दिनमा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरे।

Back to top