×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

रौतहट। मनसुनका बेला वर्षा र बाढीबाट हुन सक्ने जोखिमको मूल्याङ्कन तथा आवश्यक पूर्वतयारीका लागि रौतहटका विभिन्न स्थानमा रहेको बागमती नदी, बाँध तथा कटान प्रभावित क्षेत्रको संयुक्त अनुगमन गरिएको छ।

शनिबार बिहान करिब ८ः४५ बजेदेखि सुरु भएको अनुगमनमा रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल तथा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

टोलीले गढीमाई नगरपालिका–६ बाट अनुगमन सुरु गर्दै बागमती नदीमाथिको पुलको दुवैतर्फ, बाढीका कारण जोखिममा रहेका क्षेत्र, सम्भावित नदी कटान हुने स्थान तथा भारत सीमासम्म फैलिएको बाँधको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा नदीको वर्तमान अवस्था, बाँधको सुरक्षा, कटान नियन्त्रण तथा सम्भावित बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीका विषयमा सम्बन्धित निकायबीच छलफल गरिएको जनाइएको छ।

जिल्ला प्रशासन र सुरक्षा निकायले मनसुन अवधिभर बाढी तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी, अन्तरनिकाय समन्वय तथा आवश्यक पूर्वतयारीलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार संयुक्त अनुगमन टोलीले दिउँसो करिब २ बजे निरीक्षण सम्पन्न गरी फर्किएको जनाएको छ।

Back to top