×

वीरगञ्ज। सडक डिभिजन कार्यालय, हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान पुनः सञ्चालन गर्ने भएको छ। गण्डकचोकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर सडक विस्तारको क्रममा गहवामाई चौथो रथयात्रालाई असर नपरोस् भन्ने उद्देश्यले केही दिनका लागि स्थगित गरिएको अभियान अब पुनः अघि बढाइने भएको हो।

कार्यालयले साउन २ गते सूचना जारी गर्दै सडक विस्तारको कार्य पुनः सञ्चालन गरिने जनाएको छ। सूचनाअनुसार विशेषगरी घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले विगत ३५ वर्षदेखि पटक–पटक सूचना जारी गर्दै आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। तर गत वैशाख ६ गतेदेखि अभियानलाई सक्रिय रूपमा अघि बढाउँदै पहिलो चरणमा मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब १ हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो। त्यसपछि केही घरधनीले सडक विस्तार क्षेत्रमा परेका संरचना स्वेच्छाले हटाएर अभियानमा सहयोग गरेका थिए।

अधिकांश घरधनीले संरचना नहटाएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गर्दै दोस्रो चरणको अभियान सुरु गरेको थियो। यस क्रममा गण्डकचोकदेखि घण्टाघरसम्म तथा मितेरी पुलदेखि अलखियामठसम्मका क्षेत्रमा सडक विस्तारको काम अघि बढाइएको थियो। त्यसपछि गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिनका लागि स्थगित गरिएको थियो।

सडक डिभिजन कार्यालयले अब पनि सडक विस्तार क्षेत्रभित्र परेका संरचना सम्बन्धित घरधनीले स्वेच्छाले हटाई अभियानमा सहयोग गर्न आग्रह गरेको छ। विशेषगरी घण्टाघर–अलखियामठ खण्डमा अझै धेरै संरचना हटाउन बाँकी रहेको कार्यालयले जनाएको छ।

यसपटक सडक विस्तार अभियानप्रति स्थानीयवासीको धारणा पनि सकारात्मक बन्दै गएको देखिएको छ। विगतमा पटक–पटक सूचना जारी भए पनि कार्यान्वयन हुन नसक्दा सडक किनारका बासिन्दा अन्योलमा रहने गरेका थिए। तर अहिले अभियान व्यवहारमै अघि बढिरहेकाले अधिकांश स्थानीय अब सडक विस्तार नरोकिने निष्कर्षमा पुगेका छन्।

सडक विस्तारपछि भवनको पछिल्लो भाग सुरक्षित रहने अवस्था भएका घरधनीहरूले स्वेच्छाले संरचना हटाउन थालेका छन्। यसबाट डोजर प्रयोग गर्दा हुने अतिरिक्त क्षति कम गर्न सकिने उनीहरूको विश्वास छ। यद्यपि सडक विस्तारपछि सम्पूर्ण भवन नै हटाउनुपर्ने अवस्थामा रहेका केही घरधनीले भने सडक डिभिजन कार्यालयले नै डोजरमार्फत संरचना हटाइदिए सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

वीरगञ्जको मुख्य सडक विस्तारलाई सहरको दीर्घकालीन पूर्वाधार विकाससँग जोडिएको महत्वपूर्ण आयोजना मानिएको छ। सडक फराकिलो भएपछि बढ्दो सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण, व्यापारिक गतिविधिमा सहजता तथा सहरको समग्र सौन्दर्य अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सडक डिभिजन कार्यालयले निर्धारित मापदण्डअनुसार अभियानलाई निरन्तरता दिँदै सम्बन्धित सबै पक्षसँग आवश्यक सहयोगको आग्रह गरेको छ।

Back to top