रौतहट। राजपुर नगरपालिकाको दमारदेखि भिल्लाको सेलरसम्मको सडक स्तरोन्नतिलगायत विकास आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै नगरप्रमुख पदका भावी उम्मेदवार शाह नवाज आलमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सार्वजनिक अपिल जारी गरेका छन्।
आलमले जारी गरेको अपिलमा सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जमार्फत सञ्चालन हुने दमार–भिल्ला सेलर सडक स्तरोन्नति, पानीटंकी हाटबजार निर्माण तथा पोखरी सौन्दर्यीकरणलगायतका योजनाको शिलान्यास २०७९ चैत ९ गते तत्कालीन सहरी विकास मन्त्रालयका सचिवले राजपुर नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा गरेको स्मरण गराएका छन्।
उनका अनुसार शिलान्यास भएको लामो समय बितिसक्दा पनि आवश्यक समन्वय, अनुगमन तथा निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा आयोजनाहरू अलपत्र अवस्थामा पुगेका छन्। सडक निर्माण सम्पन्न नहुँदा सडक अत्यन्त जीर्ण बनेको र स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको उनले उल्लेख गरेका छन्।
आलमले राजपुर नगरपालिका र सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जबीच प्रभावकारी समन्वय गरी निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्। उनले वर्षायामलाई ध्यानमा राख्दै सडकको तत्काल मर्मत, निर्माण तथा प्रभावकारी पानी निकासको व्यवस्था मिलाएर स्थानीयवासीका लागि सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
‘जनताको सुविधा नै पहिलो प्राथमिकता हो’ भन्दै उनले विकास आयोजनालाई राजनीतिक विषयभन्दा माथि उठाई जनहितका लागि समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
यता स्थानीयवासीले पनि लामो समयदेखि अधुरो रहेका सडक तथा अन्य पूर्वाधार आयोजनाको निर्माण यथाशीघ्र सम्पन्न गरी सर्वसाधारणले भोग्दै आएको सास्तीको अन्त्य गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै आएका छन्।