एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
बारा । बाराको प्रसौनी गाउँपालिकामा एलपी ग्यास चुहिएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ स्थायी घर भई हाल बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका ३३ वर्षीय महेश पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गए राति आफ्नै डेराको कोठामा खाना पकाउने क्रममा एलपी ग्यास चुहिएपछि अचानक उनले लगाएको सर्टमा आगो सल्किएको थियो। आगलागीबाट पटेलको अनुहार, छाती, पिठ्युँ तथा दुवै हात जलेका छन्।
घटनापछि उनलाई तत्काल उपचारका लागि पर्सास्थित गण्डक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ र उपचार जारी रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको कारण तथा आगलागीबाट भएको क्षतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
प्रहरीले एलपी ग्यास प्रयोग गर्दा सिलिन्डर, रेगुलेटर र पाइपको नियमित परीक्षण गर्न तथा ग्यास चुहावटको आशंका भएमा तत्काल आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।