वीरगञ्ज। भारत–नेपाल सीमास्थित रक्सौल–वीरगञ्ज मैत्री पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक उज्बेकिस्तानकी महिलालाई नियन्त्रणमा लिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जुलाई १६ मा भारतबाट नेपालतर्फ आउँदै गरेकी ती महिलालाई नियमित सुरक्षा जाँचका क्रममा रोकेर कागजात परीक्षण गरिएको थियो। जाँचका क्रममा उनीसँग भारतमा बसोबास गर्न आवश्यक पर्ने वैध भिसा नभेटिएपछि एसएसबीले उनलाई नियन्त्रणमा लिएको हो।
एसएसबीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई जिम्मा दिएको जनाएको छ।
सीमा क्षेत्रमा एसएसबीले पछिल्लो समय निगरानी थप कडा बनाएको छ। पछिल्ला दुई महिनाको अवधिमा सोमालिया, स्विट्जरल्यान्ड, म्यानमार तथा बंगलादेशका नागरिकलाई समेत अवैध रूपमा सीमा पार गर्ने प्रयास गरेको वा आवश्यक यात्रा कागजात बिना भारतमा बसेको आरोपमा नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
भारत–नेपाल खुला सीमाका कारण सुरक्षा निकायहरूले सीमा नाकामा विदेशी नागरिकको आवतजावतमाथि विशेष निगरानी बढाउँदै आएका छन्।