×

वीरगञ्ज । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी शक्ति संघर्ष निर्णायक मोडमा पुगेको देखिएको छ। संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच लामो समयदेखि संवाद हुन नसकेपछि इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी भावी राजनीतिक रणनीति तय गर्ने तयारी अघि बढाएको छ।

इतर पक्षका नेताहरूले पछिल्ला आन्तरिक छलफलमा वर्तमान नेतृत्वसँग सहकार्यको सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार अब कुनै असाधारण राजनीतिक पहल नभएसम्म पार्टीभित्रको विवाद समाधान हुने अवस्था नरहेकाले राष्ट्रिय कार्यकर्ता भेलामार्फत आगामी राजनीतिक दिशा तय गर्ने तयारी गरिएको हो।

स्रोतका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारी भइरहेको छ। उक्त भेलाले नेतृत्व, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना तथा आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। केही नेताहरूले आवश्यक परे छुट्टै महाधिवेशन वा नयाँ राजनीतिक संरचनातर्फ अघि बढ्ने सम्भावनासमेत खुला रहेको बताएका छन्।

इतर पक्षको तयारीमा निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायतका नेताहरू सक्रिय रहेको जनाइएको छ।

यसअघि नै इतर पक्षले साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवस देशभर छुट्टै रूपमा मनाउने घोषणा गरिसकेको छ। सोही अवसरमा राष्ट्रिय कार्यकर्ता भेलाको मिति सार्वजनिक गर्ने तयारीसमेत गरिएको बताइएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने कार्यक्रममा ठूलो संख्यामा युवा कार्यकर्ताको सहभागितासहित शक्ति प्रदर्शन गर्ने तयारी पनि भइरहेको स्रोतले जनाएको छ।

यता संस्थापन पक्ष भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार १५औँ महाधिवेशनको तयारीमा केन्द्रित छ। असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णयअनुसार सदस्यता अद्यावधिक तथा वडा अधिवेशनका कार्यक्रम अघि बढाइएको छ।

दुई पक्षबीच मुख्य विवाद क्रियाशील सदस्यता अद्यावधिकको विषयमा देखिएको छ। इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई विनाशर्त समायोजन गर्नुपर्ने तथा यसअघि नै नवीकरण भएका सदस्यतामा पुनः अद्यावधिक आवश्यक नपर्ने अडान राखेको छ। संस्थापन पक्षले भने विधानअनुसार सदस्यता अद्यावधिक अनिवार्य रहेको र विधानविपरीत निर्णय गर्न नसकिने स्पष्ट पारेको छ।

यसैबीच सभापति गगनकुमार थापाले देउवा र शेखर कोइराला समूहका केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि विवाद थप चर्किएको छ। संस्थापन पक्षले यसलाई समन्वयको प्रयास भने पनि इतर पक्षले यसबाट मूल समस्या समाधान नहुने प्रतिक्रिया दिएको छ।

शनिबार बसेको इतर पक्षको बैठकमा बीपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको गतिविधि, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल भएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार बैठकले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ।

यद्यपि संस्थापन पक्षले संवादका ढोका बन्द नभएको बताउँदै विधानअनुसार सम्भव हुने विषयमा छलफल गर्न सकिने धारणा राखेको छ। तर लामो समयदेखि दुई पक्षबीच औपचारिक संवाद हुन नसक्दा कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको राजनीतिक वृत्तमा चर्चा छ।

Back to top