×

वीरगञ्ज। पर्सा जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा अपराध नियन्त्रण, अदालतका फैसला कार्यान्वयन तथा भन्सार छली नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना असुली र अवैध सामान बरामदमा सुधार देखिए पनि सीमावर्ती जिल्लाका रूपमा लागूऔषध तस्करी र हुण्डी कारोबार भने अझै सुरक्षा निकायका लागि प्रमुख चुनौती बनेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको आर्थिक वर्ष २०८०/०८१ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको तथ्यांकले कानुनी कार्यान्वयनमा सुधार देखाएको छ। विशेषगरी अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान प्रभावकारी बन्दै गएको देखिन्छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ हजार २३० जना फरार प्रतिवादी पक्राउ परेका थिए। यो संख्या आर्थिक वर्ष २०८१/०८२ मा बढेर १ हजार ५११ पुगेको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ९३९ जना पक्राउ परिसकेका छन्।

कैद तथा जरिवाना असुलीमा पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ३५ वर्ष बराबरको कैद कार्यान्वयन र ७६ लाख रुपैयाँ जरिवाना असुल भएको थियो। चालु आर्थिक वर्षको हालसम्म १६३ वर्षभन्दा बढी कैद कार्यान्वयन भइसकेको छ भने ८ करोड २३ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

भारतसँग खुला सीमा जोडिएको वीरगञ्ज क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी तीव्र बनाएको देखिन्छ।

आर्थिक वर्ष २०८०/०८१ मा ५३ करोड ४६ लाख रुपैयाँ बराबरका अवैध सामान र १०६ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा बरामद सामग्रीको मूल्य बढेर ५९ करोड ९४ लाख रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै ५५ करोड ५१ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद भइसकेका छन्।

प्रहरीका अनुसार यस अवधिमा तस्करीमा संलग्न व्यक्तिहरू तथा मालवाहक सवारी साधनमाथि कारबाही गरिँदा राज्यको राजस्व संरक्षणमा समेत टेवा पुगेको छ।

गैरकानुनी वित्तीय कारोबार अर्थात् हुण्डी नियन्त्रणमा भने अपेक्षित सुधार हुन सकेको छैन।

आर्थिक वर्ष २०८०/०८१ मा ७ वटा हुण्डी मुद्दा दर्ता भई ११ जना पक्राउ परेका थिए। त्यसबेला ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८ वटा मुद्दा दर्ता भई १२ जना पक्राउ परिसकेका छन् भने ५३ लाख २१ हजार रुपैयाँ बरामद भएको तथ्यांकले देखाउँछ। यसले सीमावर्ती क्षेत्रमा बैंकिङ प्रणालीबाहिर हुने अवैध वित्तीय कारोबार अझै सक्रिय रहेको संकेत गरेको छ।

पर्सामा सबैभन्दा गम्भीर चुनौतीका रूपमा लागूऔषध तस्करी देखिएको छ। वीरगञ्ज नाका प्रयोग गरेर प्राकृतिक तथा औषधीय लागूऔषधको अवैध ओसारपसार बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ५६१ किलो गाँजा र ६२५ किलो चरेश बरामद गरिएको थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै १ हजार ६४८ किलो गाँजा बरामद भइसकेको छ।

त्यस्तै, प्रतिबन्धित औषधीय लागूऔषधतर्फ ट्रामाडोल क्याप्सुलको तस्करी पनि उच्च रहेको देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा २ लाख ८९ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरिएको थियो भने चालु आर्थिक वर्षको जेठसम्म २ लाख ३४ हजारभन्दा बढी क्याप्सुल बरामद भइसकेका छन्।

लागूऔषध मुद्दामा अधिकांश नेपाली नागरिक संलग्न देखिए पनि भारतीय नागरिकहरूको पक्राउले सीमापार सञ्चालित अन्तरदेशीय सञ्जाल सक्रिय रहेको संकेत गरेको छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ९७ वटा लागूऔषध मुद्दा दर्ता भई १३६ जना पक्राउ परेका छन्।

समग्र तथ्यांकले पर्सा प्रहरीले फैसला कार्यान्वयन, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा प्रभावकारी काम गरेको देखिए पनि लागूऔषध तस्करी र हुण्डी कारोबार नियन्त्रणका लागि अझ प्रभावकारी रणनीति आवश्यक रहेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार सीमामा सामान मात्रै नियन्त्रण गर्नु पर्याप्त हुँदैन। संगठित अपराधको आर्थिक स्रोत, मुख्य लगानीकर्ता तथा अन्तरदेशीय सञ्जालमाथि लक्षित अनुसन्धान र कारबाही आवश्यक छ। त्यसका लागि गुप्तचरी सूचना प्रणालीलाई थप प्रभावकारी, निष्पक्ष र प्रविधिमैत्री बनाउँदै नेपाल–भारत सुरक्षा निकायबीच समन्वय बढाउनु अपरिहार्य देखिएको छ।

Back to top