×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विद्यार्थीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विश्वविद्यालयले व्यवस्थापन र कानुन क्षेत्रका नयाँ कार्यक्रम विस्तार गर्न लागेको हो।

विश्वविद्यालयका रजिस्ट्रार विजयकुमार यादवका अनुसार स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) तथा स्नातक तहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ ल (एलएलबी) सञ्चालन गरिनेछ। तीनवटै कार्यक्रमका पाठ्यक्रम तयार भइसकेका छन् भने यही शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालयले छिट्टै भर्नासम्बन्धी सूचना सार्वजनिक गर्ने जनाएको छ।

हाल मधेस विश्वविद्यालयमा स्नातकोत्तर तहमा मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) तथा स्नातक तहमा बीए एलएलबी र ब्याचलर इन पब्लिक म्यानेजमेन्ट (बीपीएम) सञ्चालन हुँदै आएका छन्।

रजिस्ट्रार यादवले हाल सञ्चालनमा रहेका कार्यक्रमप्रति विद्यार्थीको उत्साहजनक आकर्षण देखिएकाले नयाँ शैक्षिक कार्यक्रम थप गरिएको बताए।

वि.सं. २०७९ भदौ २२ गते स्थापना भएको मधेस विश्वविद्यालयले हाल वीरगञ्जस्थित नेसनल ट्रेडिङ भवनबाट शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले अनुसन्धान र प्रशिक्षणमा आधारित गुणस्तरीय उच्च शिक्षा विश्वविद्यालयको मुख्य प्राथमिकता रहेको बताए। उनका अनुसार मधेस प्रदेशमै पहिलो ‘मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्ने योजना रहेको छ।

उनले आगामी दिनमा एमबीबीएस, फार्मेसी, स्वास्थ्य विज्ञान, फिजियोथेरापी, ल्याब टेक्नोलोजी, एमफिल, पीएचडी तथा सूचना प्रविधिसम्बन्धी प्राविधिक कार्यक्रम सञ्चालन गर्ने दीर्घकालीन लक्ष्य विश्वविद्यालयले लिएको जानकारी दिए। साथै ग्रामीण क्षेत्रका विद्यार्थीलाई सीपमूलक शिक्षा उपलब्ध गराउने उद्देश्यले ‘मधेस सीप स्कुल’ स्थापना गर्ने तयारीसमेत भइरहेको विश्वविद्यालयले जनाएको छ।

Back to top