एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
रक्सौल । भारतको बिहार राज्यस्थित सीमावर्ती शहर रक्सौलको मुख्य सडकमा रहेको प्रसिद्ध आबकारी हनुमान मन्दिरबाट भगवान हनुमानको चाँदीको प्राचीन मुकुट चोरी भएको घटनाले स्थानीयवासी र श्रद्धालुहरूलाई स्तब्ध बनाएको छ। दिनदहाडै भएको चोरीपछि मन्दिर क्षेत्रमा आक्रोश र चिन्ताको वातावरण बनेको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ११ बजे मन्दिरका पुजारी विजय मिश्रा केही समयका लागि आवश्यक कामले बाहिर गएको बेला अज्ञात व्यक्तिहरू मन्दिरभित्र प्रवेश गरी करिब आधा किलोग्राम तौलको चाँदीको प्राचीन मुकुट चोरी गरेर फरार भएका हुन्। पुजारी मिश्राले उक्त मुकुट वर्षौं पुरानो तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै मन्दिर परिसरमा श्रद्धालुहरूको भीड लागेको थियो। पुजारीले तत्काल रक्सौल प्रहरीलाई जानकारी गराएपछि घटनाको अनुसन्धान सुरु गरिएको छ।
स्थानीय श्रद्धालु रास बिहारी चौधरीले मन्दिरमा सीसीटीभी क्यामेरा जडान नभएकाले चोरको पहिचान गर्न कठिनाइ भएको बताएका छन्। प्रहरीले आसपासका स्थानीयसँग सोधपुछ गर्नुका साथै वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजसमेत अध्ययन गरिरहेको जनाएको छ।
विशेष कुरा, उक्त मन्दिर आबकारी प्रहरी कार्यालयको छेउमै रहेको छ। संवेदनशील स्थानमै दिनदहाडै चोरी भएको घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। स्थानीयवासीले चोरको शीघ्र पक्राउ तथा धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन माग गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाइएको जनाउँदै छिट्टै चोरीमा संलग्न व्यक्तिको पहिचान गरी सार्वजनिक गर्ने विश्वास व्यक्त गरेको छ।