×

वीरगञ्ज । महिला उद्यमशीलता प्रवर्द्धन तथा साना एवं घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबद्वारा आयोजित २२औँ समर फेयर प्रदर्शनी शनिबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ।

क्लबकी अध्यक्ष रुपा अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देबिसहाय मीना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उद्योगी, व्यवसायी, सरकारी अधिकारी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदर्शनीमा नेपाल र भारतका व्यवसायीहरूले हस्तकला, रेडिमेड तथा डिजाइनर परिधान, गृह सजावटका सामग्री, ज्वेलरी, सौन्दर्य सामग्री, खाद्य परिकार तथा अन्य घरेलु उत्पादनका आकर्षक स्टलहरू राखेका थिए।

प्रमुख अतिथि मीनाले यस्ता प्रदर्शनीले महिला उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। आयोजकका अनुसार २२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको समर फेयरले महिला उद्यमीलाई आफ्ना उत्पादनको बजारीकरण र व्यापार विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।

Back to top