वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको लेखा शाखामा विगत १० दिनदेखि जारी तालाबन्दीका कारण नगरपालिकाको दैनिक प्रशासनिक, आर्थिक तथा सेवा प्रवाह प्रभावित भएको छ। तालाबन्दी लम्बिँदै जाँदा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ भने नगरपालिकाको नियमित कार्यसम्पादनसमेत अवरुद्ध बनेको छ।
लेखा शाखामा तालाबन्दी कायम रहँदा भुक्तानी, आर्थिक कारोबार तथा विभिन्न प्रशासनिक सेवा ठप्प भएका छन्। यसको प्रत्यक्ष असर नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारण, उपभोक्ता समिति तथा विकास निर्माण योजनासँग सम्बन्धित सेवाग्राहीहरूमा परेको छ।
बाल विकास शिक्षिका तथा कार्यालय सहयोगीहरूले तलब भुक्तानीको माग गर्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन्। उनीहरूको माग अझैसम्म सम्बोधन हुन नसक्दा तालाबन्दी जारी रहेको जनाइएको छ।
नगरपालिकाको आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहेको लेखा शाखा बन्द हुँदा आर्थिक वर्षको महत्वपूर्ण समयमा विकास निर्माणका योजनाको भुक्तानी, बजेट निकासा तथा अन्य वित्तीय कारोबारसमेत प्रभावित भएका छन्। यसले विकास निर्माणका काममा ढिलाइ हुने तथा योजनाको कार्यान्वयनमा असर पर्ने चिन्ता बढाएको छ।
यता, स्थानीयवासीहरूले सेवाग्राहीको अधिकार प्रभावित हुने गरी गरिएको तालाबन्दी तत्काल अन्त्य गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। उनीहरूले वार्ता र संवादमार्फत समस्या समाधान गर्दै नगरपालिकाको सेवा प्रवाह यथाशीघ्र सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
तालाबन्दी कहिलेसम्म जारी रहने भन्ने विषयमा हालसम्म कुनै स्पष्ट निर्णय सार्वजनिक भएको छैन। माग सम्बोधनका लागि सम्बन्धित पक्षबीच प्रभावकारी पहल हुन नसक्दा नगरपालिकाको सेवा प्रवाह थप प्रभावित हुने देखिएको छ।