×

वीरगञ्ज । नेपालका चर्चित अभिनेता तथा ‘महानायक’ राजेश हमाल वास्तु विहार नेपालको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा राजेश हमाल र वास्तु विहार नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै उक्त सहकार्य औपचारिक रूपमा सार्वजनिक गरिएको हो । सम्झौताअनुसार हमाल कम्पनीका विभिन्न ब्रान्ड प्रवर्द्धन, जनचेतनामूलक अभियान, आवासीय परियोजनाको प्रचार–प्रसार तथा सामाजिक कार्यक्रमहरूमा आधिकारिक प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नेछन् ।

नेपालमा आफ्नो उपस्थितिलाई थप सशक्त र विश्वसनीय बनाउने रणनीतिअन्तर्गत कम्पनीले राजेश हमाललाई ब्रान्ड एम्बेसडरका रूपमा चयन गरेको जनाएको छ । कम्पनीका अनुसार हमालको अनुशासन, निरन्तरता, विश्वासिलो व्यक्तित्व र समाजमा स्थापित सकारात्मक छवि वास्तु विहारले पछिल्ला तीन दशकदेखि अङ्गाल्दै आएको विश्वास, गुणस्तर र उत्कृष्टताको मूल्यसँग मेल खाने भएकाले यो सहकार्य गरिएको हो ।

सहकार्यलाई नेपालकै अग्रणी मार्केटिङ एजेन्सी वीरगञ्जको एड्स बी मिडिया प्रालिले सहजीकरण गरेको हो । कम्पनीले यसलाई नेपालमा आफ्नो ब्रान्ड विस्तार तथा दीर्घकालीन विकास रणनीतिको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।

सम्झौतापछि बोल्दै महानायक राजेश हमालले वास्तु विहारसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै गुणस्तरीय आवास निर्माण र विश्वासको संस्कृतिलाई प्रवर्द्धन गर्ने अभियानमा आफू सहभागी हुन पाउँदा गर्व लागेको बताए । “घर केवल इँटा, ढुङ्गा र सिमेन्टको संरचना मात्र होइन, यो एउटा परिवारको सपना, सुरक्षा र भविष्यसँग जोडिएको विषय हो। विश्वासका आधारमा निर्माण भएका परियोजनाले समाजमा दीर्घकालीन प्रभाव छोड्छन् । वास्तु विहारले यही सोचलाई प्राथमिकता दिएको पाएपछि यो यात्रामा जोडिन पाउँदा खुसी लागेको छ,” उनले भने ।

हमालले गुणस्तर, पारदर्शिता र ग्राहकप्रतिको जिम्मेवारीलाई कुनै पनि सफल ब्रान्डको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै नेपालमा योजनाबद्ध र आधुनिक आवासीय विकासको आवश्यकता बढ्दै गएको बताए । “नेपाल तीव्र सहरीकरणतर्फ अघि बढिरहेको छ । यस्तो समयमा व्यवस्थित, सुरक्षित र गुणस्तरीय आवास निर्माण गर्ने कम्पनीहरूको भूमिका अझ महत्त्वपूर्ण हुन्छ । म विश्वास गर्छु, वास्तु विहारले नेपालमा उत्कृष्ट आवासीय संस्कृतिको विकासमा सकारात्मक योगदान दिनेछ,” उनले थपे ।

हमालले कम्पनीसँग मिलेर विभिन्न सामाजिक तथा प्रवर्द्धनात्मक अभियानमार्फत नेपाली उपभोक्तामाझ विश्वास, गुणस्तर र उत्कृष्टताको सन्देश पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

वास्तु विहारका अनुसार राजेश हमालसँगको सहकार्य केवल ब्रान्ड प्रचारमा सीमित नभई अनुभव, प्रेरणा, परम्परा र नवीनतालाई एउटै मञ्चमा जोड्ने प्रयास हो । कम्पनीले नेपालमा गुणस्तरीय आवासीय विकासमार्फत विश्वास र उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले आगामी वर्षहरूमा आधुनिक पूर्वाधारसहितका योजनाबद्ध आवासीय परियोजनालाई प्राथमिकता दिँदै नेपालका विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सहकार्यले नेपाली उपभोक्तामा ब्रान्डप्रतिको विश्वास अझ सुदृढ हुने तथा नेपालमा व्यवस्थित आवासीय विकासको अभियानले थप गति लिने अपेक्षा गरिएको छ ।

भारतमा करिब तीन दशकदेखि आवासीय विकासको क्षेत्रमा सक्रिय रहेको वास्तु विहारले नेपालमा पनि आधुनिक, सुरक्षित र योजनाबद्ध आवासीय परियोजनामार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ । कम्पनीले व्यवस्थित टाउनशिप, आवासीय प्लट, आधुनिक पूर्वाधार, फराकिला सडक, हरियाली वातावरण, सुरक्षित बासस्थान तथा दीर्घकालीन मूल्य सिर्जना गर्ने उद्देश्यका साथ नेपालमा विभिन्न परियोजना अघि बढाइरहेको जनाएको छ ।

वास्तु विहारका अनुसार आगामी दिनमा नेपालका विभिन्न प्रमुख सहरहरूमा योजनाबद्ध आवासीय परियोजना, आधुनिक टाउनशिप, सामुदायिक पूर्वाधार, खुला हरित क्षेत्र तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका आवास विकास कार्यक्रम विस्तार गरिनेछ । कम्पनीले गुणस्तरीय आवास निर्माणसँगै रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रमा योगदान तथा व्यवस्थित सहरी विकासमा समेत भूमिका खेल्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार वास्तु विहारको उद्देश्य केवल घर निर्माण गर्नु मात्र नभई मानिसहरूको सपना, विश्वास र सुरक्षित भविष्य निर्माण गर्नु हो । यही सोचलाई अझ प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन राजेश हमालसँग सहकार्य गरिएको कम्पनीको भनाइ छ ।

Back to top