×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा वर्षापछि उत्पन्न डुबान, जलनिकास तथा आवतजावत समस्याको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिएका हुन्।

अविरल वर्षापछि सडक जलमग्न हुँदा आवतजावतमा कठिनाइ भएको, विद्यालय जाने विद्यार्थीको पठनपाठन प्रभावित भएको तथा दैनिक जनजीवन कष्टकर बनेको भन्दै स्थानीयवासीले सांसद पन्तसमक्ष गुनासो गरेका थिए।

स्थानीयका अनुसार सर्वोत्तम स्टिल उद्योगले नाला अतिक्रमण गरेपछि प्राकृतिक पानी निकासको मुहान अवरुद्ध भएको छ। त्यसका कारण वर्षाको पानी सहज रूपमा बग्न नसकी बस्ती डुबानमा पर्ने गरेको उनीहरूको आरोप छ।

गुनासोपछि सांसद पन्तले सर्वोत्तम स्टिल उद्योग पुगेर उद्योगका महाप्रबन्धकसँग छलफल गर्नुका साथै स्थलगत निरीक्षण गर्दै समस्या समाधानका सम्भावित उपायबारे जानकारी लिएका थिए।

निरीक्षणका क्रममा स्थानीयले कृषि प्रयोजनका लागि पर्याप्त रासायनिक मल उपलब्ध गराउन, छठ घाट क्षेत्रमा हुने डुबान समस्या समाधान गर्न तथा भेडाहा खोलामा तटबन्ध निर्माण गरी बस्ती र खेतीयोग्य जमिनलाई बाढीबाट सुरक्षित बनाउनुपर्ने मागसमेत राखेका थिए।

स्थानीयका समस्या सुनेपछि सांसद पन्तले उठाइएका सबै विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले डुबान तथा जलनिकास समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायबीच समन्वय गरी प्रभावकारी कदम चालिने विश्वास दिलाए।

स्थानीयवासीले वर्षेनी दोहोरिने डुबान समस्याको स्थायी समाधानका लागि सरकारी निकायको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन्। सांसद पन्तको स्थलगत निरीक्षणपछि समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।

Back to top