वीरगञ्ज । अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण देशका चारवटा प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । सोमबार बिहान ६:३० बजेसम्मको पछिल्लो सरकारी विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात सेवा ठप्प हुँदा हजारौँ यात्रीहरू गन्तव्यमै अलपत्र परेका छन् ।
सडक विभाग र नेपाल प्रहरीको समन्वयमा अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि निरन्तरको वर्षा र पहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
बागमती प्रदेश: वी.पी., अरनिको र कान्ति लोकपथ पूर्ण ठप्प
बागमती प्रदेशमा बाढी र पहिरोको जोखिमका कारण तीनवटा मुख्य सडक ठप्प छन् । सम्भावित ठुलो बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वी.पी. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा खसेको पहिरोका कारण हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
लुम्बिनी र गण्डकी: चार जिल्लाका सडक बन्द, सिद्धार्थ राजमार्ग एकतर्फी
लुम्बिनी प्रदेशका चारवटा जिल्लामा पहिरोले सडक सञ्जाल बिच्छेद गराएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
यसैगरी, गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा भने पहिरो पन्छाएर हालका लागि यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ । उता गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ ।
कोशी प्रदेश: मेची राजमार्ग अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा हाल वैकल्पिक मार्गमार्फत सवारी साधन सञ्चालन गराइएको छ।
यस्तै, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा आएको बाढीका कारण भत्किएको सडक खण्डलाई मर्मत गरी हाल एकतर्फी रूपमा सुचारु गरिएको छ भने त्यहाँ पनि अर्को वैकल्पिक बाटो खुला गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई र पहाडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको जनाएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।