वीरगञ्ज। बीरगञ्ज महानगरपालिका–११ स्थित बीरगञ्ज कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
बीरगञ्ज कलेजका सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र चौधरीको सभापतित्व तथा क्याम्पस प्रमुख विनोद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई सार्वजनिक मञ्चमा प्रभावकारी रूपमा आफ्नो विचार प्रस्तुत गर्ने कला, आत्मविश्वास विकास तथा नेतृत्व क्षमताबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख विनोद गुप्ताले शैक्षिक ज्ञानसँगै प्रभावकारी सञ्चार सीप पनि विद्यार्थीको सफलताको महत्वपूर्ण आधार भएको बताए। उनले स्पष्ट अभिव्यक्ति, आत्मविश्वास र प्रभावकारी प्रस्तुतिले विद्यार्थीलाई सार्वजनिक जीवनमा सक्षम वक्ताका रूपमा स्थापित गर्न सहयोग गर्ने उल्लेख गरे।
कार्यक्रमका सभापति डा. दीपेन्द्र चौधरीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी व्यवहारिक तथा जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। उनले कलेजले 'पढ्दै जाऔं, कमाउँदै जाऔं' भन्ने अवधारणाअनुसार शिक्षासँगै बोल्ने, हिँड्ने, नेतृत्व गर्ने तथा व्यक्तित्व विकासका विविध सीपसमेत सिकाउँदै आएको जानकारी दिए।
उनले बीरगञ्ज कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्दै उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा सफल भएको उल्लेख गर्दै नयाँ विद्यार्थीहरूलाई पनि सोही स्तरको दक्षता हासिल गराउने लक्ष्य रहेको बताए।
डा. चौधरीले अन्य कलेजभन्दा फरक शैलीमा शिक्षण–सिकाइ सञ्चालन भइरहेको उल्लेख गर्दै अध्ययनसँगै व्यवहारिक ज्ञान, नेतृत्व क्षमता तथा सार्वजनिक प्रस्तुति कलामा विद्यार्थीलाई दक्ष बनाउन कलेज निरन्तर सक्रिय रहेको बताए।
कलेजका अनुसार आगामी दिनमा पनि विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले यस्ता अभिमुखीकरण तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।