×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।

वडा कार्यालय–३१ को विनियोजित बजेट तथा वीरगञ्ज महानगरपालिकाको नगरस्तरीय थप बजेटको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको छठीघाटको उद्घाटन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले रिबन काटी तथा शिलालेख अनावरण गरी गरेका हुन्।

छठीघाट व्यवस्थापन समिति र सोलखपुर गाउँवासीको संयुक्त आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रम वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले महानगरभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासमा महानगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताए। उनले उपभोक्ता समिति र वडा कार्यालयको सक्रिय समन्वयका कारण गुणस्तरीय निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले वडा कार्यालयको बजेट र महानगरपालिकाको थप आर्थिक सहयोगबाट सोलखपुरवासीको लामो समयदेखिको सपना पूरा भएको बताए। उनले आगामी दिनमा पनि वडाभित्रका विकास निर्माणका कार्यलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा ठूलो संख्यामा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Back to top