×

रौतहट । मिटरब्याजविरुद्ध न्यायको माग गर्दै मधेश प्रदेशबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूको अभियान बर्खे वर्षाका कारण प्रभावित बनेको छ।

आइतबार रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका पीडितहरूले सोमबार बिहान ५ बजेदेखि पुनः यात्रा सुरु गर्ने तयारी गरेका थिए। तर बिहानैदेखि परेको लगातार वर्षाका कारण उनीहरूको यात्रा केही समय प्रभावित भएको हो।

वर्षाका कारण यात्रामा असहजता उत्पन्न भए पनि पीडितहरू आफ्नो आन्दोलनबाट पछि नहट्ने अडानमा छन्। उनीहरूले जुनसुकै चुनौती आए पनि न्याय प्राप्तिको लक्ष्यसहित काठमाडौंसम्मको यात्रा निरन्तर अघि बढाइरहेको बताएका छन्।

मिटरब्याज पीडितहरूले सरकारसँग आफ्नो समस्या समाधान, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै पैदल यात्रा सुरु गरेका हुन्।

उनीहरूको यो अभियानले मिटरब्याज पीडितहरूको आवाज राज्यसम्म पुर्‍याउने र सरकारलाई आवश्यक निर्णय लिन दबाब सिर्जना गर्ने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्। बर्खे वर्षाले केही अवरोध सिर्जना गरे पनि न्यायको खोजीमा रहेको उनीहरूको यात्रा भने निरन्तर जारी रहने जनाइएको छ।

Back to top