×

वीरगञ्ज ।  मिटरब्याजको शोषणविरुद्ध सुरु गरिएको ‘पैदल न्याय मार्च’ आज चौथो दिन लालबन्दीबाट काठमाडौँको दिशामा अघि बढेको छ ।

असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु भएको उक्त मार्च एक साताभित्र राजधानी पुग्ने लक्ष्यसहित सञ्चालन भइरहेको आयोजकहरूले बताएका छन् ।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले आयोजना गरेको मार्चमा सयौँ पीडित तथा उद्यमी सहभागी छन् । सहभागीहरूले ‘चुपचाप तमसूक फाड’, ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै अघि बढिरहेका छन् ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले सरकारले चार पटक सहमति जनाए पनि कार्यान्वयन नगरेकाले पुनः दबाबमूलक आन्दोलन गर्नुपरेको बताए । “सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन शून्यजस्तै छ,” उनले भने, “हामी न्यायको खोजीमा फेरि सडकमा उत्रिएका हौँ ।”

उनका अनुसार साहु–महाजनहरूले फर्जी तमसुक र नक्कली कागजातको सहारामा अदालती प्रक्रियामार्फत किसानको जग्गा हडप्ने र भूमिहीन बनाउने काम तीव्र बनाइरहेका छन् । पीडितहरूले फर्जी तमसुक खारेज, शोषण अन्त्य तथा भूमिको संरक्षणलाई मुख्य माग बनाएका छन् ।

अभियन्ता निर्ग नवीनले पनि सरकारले विगत करिब १०० दिनमा मिटरब्याज समस्याबारे ठोस पहल नगरेको आरोप लगाए । “सरकार पीडितका समस्याप्रति गम्भीर देखिएको छैन । त्यसैले जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रा गरी सिंहदरबार घेराउ गर्दै आफ्ना पीडा सुनाउने लक्ष्य लिएका छौँ,” उनले भने ।

मार्च सुरु हुनुअघि जनकपुरधाममा मशाल जुलुस निकालिनुका साथै प्रतीकात्मक रूपमा फर्जी तमसुक जलाएर आन्दोलनको घोषणा गरिएको थियो । उद्घाटन कार्यक्रममा करिब ४ सय सहभागी रहेको र यात्राका क्रममा सङ्ख्या थपघट हुन सक्ने आयोजकहरूले जनाएका छन् ।

आन्दोलनको केन्द्रीय सचिवालय बैठकले सरकारलाई मिटरब्याज पीडितका समस्या समाधानका लागि समयसीमा दिएको र सो अवधिमा ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरदेखि सङ्घीय राजधानी काठमाडौँसम्मको पैदल यात्रा मार्फत मिटरब्याज पीडितका मुद्दालाई राष्ट्रिय रूपमा उठाउने र राज्यलाई जिम्मेवार बनाउन दबाब सिर्जना गर्ने आन्दोलनको उद्देश्य रहेको आयोजकहरूको भनाइ छ ।

Back to top