×

वीरगञ्ज । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै भेट्रान सिटी क्लब वीरगञ्जले आफ्नो ९औँ साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत “भविष्यका कर्णधारसँगको एक पल” कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअन्तर्गत क्लबले वीरगञ्जस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास का विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुका साथै भोजन गराएको हो ।

भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराको अध्यक्षता तथा पर्सा फुटबल क्लबका पूर्व अध्यक्ष मनोज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी, खेलकर्मी, समाजसेवी तथा छात्रावासका पदाधिकारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्लबले छात्रावासका विद्यार्थीहरूलाई ३० थान विद्यालय झोला, फुटबल विश्वकपमा सहभागी विभिन्न राष्ट्रका जर्सी सेट (टिसर्ट र सर्ट) ३० थान, ४ थान फुटबल, ४ कार्टुन रियल (पेय पदार्थ), सीएफएल बल्ब, मल्टिप्लग तथा अन्य आवश्यक विद्युतीय सामग्री हस्तान्तरण गरेको थियो । साथै विद्यार्थीहरूलाई सामूहिक रूपमा भोजनको व्यवस्था पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षता गरिरहेका सागर शमशेर जबराले क्लबले खेलकुद प्रवर्द्धनसँगै सामाजिक सेवाका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको बताए । उनले समाजका असहाय तथा विपन्न वर्गसँग खुसी साट्न पाउनु नै क्लबका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै विद्यार्थीहरूको मुस्कानले आफूहरूलाई थप सामाजिक कार्य गर्न प्रेरणा मिलेको बताए ।

उनले “भविष्यका कर्णधारसँगको एक पल” कार्यक्रममार्फत विद्यार्थीहरूसँग समय बिताउन पाउँदा गौरव महसुस भएको उल्लेख गर्दै उनीहरूको उज्ज्वल भविष्य र सर्वाङ्गीण प्रगतिको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष तथा होटेल मकालुका सञ्चालक रोशन श्रेष्ठ, सलिको इन्स्योरेन्स मधेस प्रदेश प्रमुख निशान्त लामिछाने, पूर्व राष्ट्रिय खेलाडी शिवशङ्कर श्रीवास्तव, क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तव, आनन्द चौधरी, दीपेश क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

क्लबका सदस्य तथा युवा समाजसेवी सन्तोष खनालले सञ्चालन गरेको कार्यक्रममा सहयोग सामग्री र आत्मीयता प्राप्त गरेपछि छात्रावासका विद्यार्थीहरूले खुसी व्यक्त गर्दै भेट्रान सिटी क्लब परिवारप्रति आभार प्रकट गरेका थिए ।

Back to top