×

मृतक गणेश नेपालीको पुरानो तस्बिर। उनको मृत्यु प्रकरणमा परिवार र सरकारबिच वार्ता जारी छ।

वीरगञ्ज । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवार र सरकारबिच आइतबार पनि सहमति जुटाउने प्रयास जारी रहेको छ । परिवारले घटनाको नैतिक र कानुनी जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान कायम राखेकाले अन्त्येष्टि प्रक्रिया अझै अघि बढ्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रवारदेखि निरन्तर छलफल भइरहेको छ । शनिवार रातिसम्म चलेको वार्तामा पनि अन्तिम सहमति हुन नसकेपछि आइतबार पुनः दुवै पक्षबिच संवाद जारी रहेको जनाइएको छ । जेनजी अभियन्ता सुप्रिया शाहीका अनुसार हाल परिवारका सदस्य र सरकारी प्रतिनिधिबिच बन्द कोठामा छलफल भइरहेको छ भने अन्य व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन ।

परिवारले घटनामा संलग्न महानगर प्रहरीमाथि कानुनी कारबाही, निष्पक्ष छानबिन, पीडित परिवारको दीर्घकालीन जिम्मेवारी राज्यले लिनुपर्ने तथा स्पष्ट सरकारी प्रतिबद्धता सार्वजनिक हुनुपर्ने माग राखेको छ । उनीहरूको अडानका कारण पोस्टमार्टम प्रक्रिया समेत प्रभावित भएको थियो । वीर अस्पतालमा शव लामो समय राख्ने पर्याप्त सुविधा नभएकाले गणेशको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा सारिएको छ  ।

यसैबिच, उपचारका क्रममा गणेशको मृत्यु भएपछि शोकमा रहेका उनका बुबाले शनिवार आत्महत्याको प्रयास गरेको परिवारले जनाएको छ । परिवारका अनुसार सरकारले शव बुझ्न दबाब दिएको भन्दै भावुक बनेका उनले आफ्नै घाँटी न्याकेर आत्महत्याको प्रयास गरेका थिए । उपस्थित आफन्तले तत्काल रोक्दै सम्भावित दुर्घटना हुनबाट जोगाएका थिए ।

घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको भूमिका, मोटरसाइकलमा ह्विल लक लगाउने प्रक्रिया, घटनाअघिका गतिविधि तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । साथै घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीको बयानसमेत लिइएको छ । उनीहरूलाई पक्राउ नगरिएको भए पनि घटनाको वास्तविकता स्थापित गर्न सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

गणेश नेपाली मुगुको सोरु गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । उनी भक्तपुरको कमलविनायकमा बस्दै पठाओ चालकका रूपमा जीविकोपार्जन गर्दै आएका थिए । प्रारम्भिक विवरणअनुसार गत बिहीबार राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद भएको थियो । त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए । करिब ७० प्रतिशत शरीर जलेका उनलाई तत्काल वीर अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा शुक्रवार बिहान करिब ११:१९ बजे उनको निधन भएको थियो ।

घटनापछि काठमाडौँको माइतीघर मण्डलालगायत स्थानमा मुगुवासी, पठाओ राइडर तथा विभिन्न युवा समूहले प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन् ।

उता, प्रतिनिधिसभामा पनि नेपालीको मृत्युको विषयले प्रवेश पाएको छ । गृहमन्त्रीले सङ्घीय ट्राफिक प्रहरीले नभई काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक लगाएको उल्लेख गर्दै छानबिनबाट सत्यतथ्य बाहिर आउने बताएका छन् । विपक्षी दलहरूले भने घटनाको नैतिक जिम्मेवारी राज्यले लिनुपर्ने र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

घटनाले स्थानीय सरकारको कार्यशैली, नागरिकसँगको व्यवहार, सार्वजनिक सेवा प्रवाहमा संवेदनशीलता तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रश्नलाई समेत राष्ट्रिय बहसको विषय बनाएको छ । अहिले सबैको ध्यान सरकार–परिवारबिच हुने सहमति र छानबिन समितिको प्रतिवेदनतर्फ केन्द्रित भएको छ ।

Back to top