एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएसँगै मधेस प्रदेशमा आज र भोली भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
विभागका अनुसार मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्छ । विशेष गरी तराई क्षेत्रका होचा भूभागमा डुबान, नदी तथा खोलामा आकस्मिक बाढी र कमजोर संरचनामा क्षति पुग्ने जोखिम रहेको जनाइएको छ ।
मधेससहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा पनि मधेस प्रदेशमा अधिकांश बदली रहने र केही स्थानमा भारी वर्षा जारी रहन सक्ने पूर्वानुमान छ ।
प्राधिकरणले खोला, खहरे तथा नदी आसपास बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न तयारी अवस्थामा रहन आग्रह गरेको छ । बाढी तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
जोखिमयुक्त सडक तथा राजमार्गमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा उद्धार तथा राहत कार्यका लागि समन्वय बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएमा भारी वर्षा मानिन्छ भने १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा धेरै भारी वर्षा मानिन्छ । त्यसैले मधेस प्रदेशका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।