वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) वीरगञ्ज महानगर शाखाद्वारा आयोजित एसइई–२०८२ उत्कृष्टता सम्मान समारोहमा वीरगञ्जस्थित जीएचपी विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्दै वीरगञ्ज महानगरपालिकाभित्र सबैभन्दा बढी टपर उत्पादन गर्ने विद्यालयको कीर्तिमान कायम गरेका छन् ।
सम्मानित हुने विद्यार्थीहरूमा मेहविश हुमायूँ, प्रथम पटेल, सिद्धान्त गुप्ता, आकृति राय, बुद्धिप्रिया पाण्डेय र अलिना जयसवाल रहेका छन् । यसअघि विद्यालयले पनि ती विद्यार्थीहरूलाई ल्यापटप, प्रशंसा पत्र तथा खादा ओढाएर सम्मान गरिसकेको थियो ।
वीरगञ्जमा आयोजित उक्त समारोह एन–प्याब्सन वीरगञ्ज महानगर शाखाका अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जीएचपी स्कुलकी संस्थापक प्रधानाध्यापक रमीन्द्र कौरले पनि विद्यालयको उपलब्धिबारे प्रकाश पार्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
समारोहमा बोल्दै कार्यवाहक नगर प्रमुख आलमले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै उनीहरूलाई निरन्तर अध्ययनमा केन्द्रित भई देशको सक्षम र जिम्मेवार नेतृत्वका रूपमा अघि बढ्न प्रेरित गरे ।
कार्यक्रममा विद्यालयले हासिल गरेको उपलब्धि विद्यार्थीहरूको अथक परिश्रम, शिक्षक–शिक्षिकाहरूको समर्पित मार्गदर्शन तथा विद्यालय व्यवस्थापनको प्रभावकारी नेतृत्वको परिणाम भएको उल्लेख गरिएको थियो । विद्यालय प्रशासनले वीरगञ्जको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा प्राप्त यस सफलताले गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ ।
साथै विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक तथा शुभेच्छुकप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गरी उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।