×

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकार गठन हुँदा नागरिकले ठूलो सामाजिक तथा आर्थिक परिवर्तनको अपेक्षा गरे पनि त्यसअनुसार परिणाम नदेखिएको बताएका हुन्।

अध्यक्ष घिसिङले वर्तमान परिस्थितिमा आम नागरिक, विशेष गरी गरिब तथा निमुखा वर्गमा निराशा बढ्दै गएको उल्लेख गरे। उनले मुगुका गणेश नेपालीको आत्मदाहको घटनालाई लामो समयदेखिको मानसिक तनाव तथा राज्य प्रणालीको असफलताको परिणामका रूपमा आफूले बुझेको बताए।

उनले व्यक्तिगत तथा सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारी कमजोर बन्दै गएको टिप्पणी गर्दै जनताका समस्या समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

घिसिङले उज्यालो नेपाल पार्टीले आर्थिक तथा सामाजिक असमानता घटाउने उद्देश्यसहित विशेष विकास मोडल अघि सारेको जानकारी दिए। उनका अनुसार उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ रहेको छ।

जलविद्युत, कृषि तथा पर्यटनजस्ता मुलुकका प्राकृतिक र आर्थिक स्रोतहरूको प्रभावकारी उपयोगमार्फत आर्थिक रूपान्तरण गर्ने लक्ष्य पार्टीले लिएको उनले बताए। यसबाट धनी र गरिबबीचको आर्थिक खाडल कम गर्दै समावेशी विकासलाई अघि बढाउने उद्देश्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए।

Back to top