एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत सिरिसिया क्षेत्रमा पछिल्ला केही दिनयता लगातार चोरीका घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा बासिन्दामा त्रास बढेको छ। छोटो अवधिमै रक्सी पसल, खाजा पसल तथा अन्य साना व्यवसायिक प्रतिष्ठानमा चोरी भएका घटनाले स्थानीयले सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्थानीयका अनुसार शुक्रबार राति करिब १२ः३० बजे आईसीपी जाने सडकखण्डमा रहेको सञ्जय रामको खाजा पसलमा चोरी भएको हो। पीडित सञ्जय रामका अनुसार चोरहरूले पसलको ताला फोडेर भित्र प्रवेश गरी करिब ३५ हजार रुपैयाँ बराबरका खाद्य सामग्री तथा अन्य सामान चोरी गरेका छन्। साथै पसलमा रहेको ५ हजार ५ सय रुपैयाँ नगदसमेत चोरी भएको उनले बताए।
उनका अनुसार बिहान पसल खोल्न जाँदा पसलको पछाडिको भाग फुटेको र सामान छरपस्ट अवस्थामा भेटिएपछि चोरी भएको थाहा भएको हो।
स्थानीय व्यवसायीहरूले पछिल्ला दिनमा चोरीका घटना दोहोरिँदा आर्थिक क्षति बेहोर्नुपरेको र व्यवसाय सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेको बताएका छन्। उनीहरूले रातिको समयमा सुरक्षा व्यवस्था प्रभावकारी नभएको गुनासो गर्दै सम्बन्धित निकायसँग चोरीका घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन्।
यसैबीच, केही स्थानीयले प्रहरी चौकी सिरिसियाका इन्चार्ज मनबहादुर जिम्बामाथि चोरीका घटनामा संरक्षण दिएको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन र सम्बन्धित प्रहरी अधिकारीको प्रतिक्रिया पनि प्राप्त हुन सकेको छैन।
स्थानीयले घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिलाई शीघ्र पक्राउ गर्न तथा क्षेत्रमा नियमित गस्ती र सुरक्षा निगरानी बढाउन माग गरेका छन्। उनीहरूका अनुसार लगातार भइरहेका चोरीका घटनाले व्यवसायी र सर्वसाधारणमा असुरक्षाको भावना बढ्दै गएको छ।
यस घटनाबारे प्रहरी प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।