वीरगञ्ज । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालद्वारा आयोजित पैदल न्याय मार्च तेस्रो दिन पनि निरन्तर जारी रहेको छ। आन्दोलनमा सहभागी पीडितहरूले शुक्रबार राति बर्दिबासस्थित पञ्चुधरा मन्दिर क्षेत्रमा बास बसेपछि शनिबार बिहानै राजधानी काठमाडौंतर्फको यात्रा पुनः सुरु गरेका हुन्।
मार्चमा सहभागी सयौँ मिटरब्याज पीडितहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकारसँग न्यायको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
एक पीडितले प्रधानमन्त्रीले "अधिकार माग्न काठमाडौं जान पर्दैन" भन्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएकाले आफूहरू न्यायको खोजीमा राजधानीसम्म पैदल यात्रा गर्न बाध्य भएको बताएका छन्।
आन्दोलनकारीहरूले मिटरब्याजलाई फौजदारी अपराधको सूचीमा समावेश गर्न, साहु–महाजनबाट हुने शोषण र ज्यादती अन्त्य गर्न तथा पीडितलाई तत्काल राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
आयोजकका अनुसार पैदल न्याय मार्च विभिन्न जिल्ला हुँदै काठमाडौं पुग्नेछ। राजधानी पुगेपछि केन्द्रित दबाबमूलक आन्दोलन सञ्चालन गर्ने योजना रहेको जनाइएको छ। साथै यात्रा क्रममा विभिन्न स्थानमा मिटरब्याज पीडितहरूसँग भेटघाट, गुनासो सुनुवाइ तथा विवरण सङ्कलन गर्ने कार्यसमेत भइरहेको आयोजकले जनाएको छ।
आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।