वीरगञ्ज । श्रम संस्कृतिक पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनालाई लिएर सरकारको तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले वर्तमान शासन व्यवस्था र राज्यको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
साम्पाङले आफ्नो सामाजिक सञ्जाल पोस्टमा वर्तमान शासन व्यवस्थालाई व्यंग्य गर्दै ‘देवताको शासन’ को संज्ञा दिएका छन्। उनले पीडित नागरिकले आफ्नो पीडा व्यक्त गर्नसमेत कठिन हुने अवस्था रहेको र उल्टै पीडितलाई नै दोष दिने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।
मृतक गणेश नेपालीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, "देवताको शासन हो यो! यहाँ बोल्न पाइँदैन। यहाँ देवतालाई दोष दिए पाप लाग्छ। जरिवाना तिर्न नसकेको भन्दै तिमीलाई नै कमजोर भन्नेहरू उनैका भक्त हुन्।"
साम्पाङले नेपालमा सरकार र नेतृत्व परिवर्तन भए पनि शासन गर्ने शैली र प्रवृत्तिमा अपेक्षित परिवर्तन आउन नसकेको दाबी गरेका छन्। गरिब, श्रमिक तथा निमुखा नागरिकको पक्षमा काम गर्ने राजनीतिक शक्तिलाई जनताले पहिचान नगरेसम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने उनको भनाइ छ।
उनले गणेश नेपालीको घटनालाई सामान्य समाचारका रूपमा नभई सामाजिक अन्याय, विद्रोह र परिवर्तनको प्रतीकका रूपमा आफूले लिएको उल्लेख गरेका छन्। साथै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै गरिब तथा निमुखा नागरिकको न्यायका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले "कोही तिम्रो न्यायको पक्षमा उभियोस् वा नउभियोस्, म सधैं तिम्रो पक्षमा बोलिरहनेछु। लाखौं युवाले आफ्नै देशमा रोजगारी पाउनुपर्छ भन्ने माग लिएर सडक, सञ्जाल र सदनमा आवाज उठाइरहनेछु," भन्दै आफ्नो अभियान जारी रहने बताएका छन्।
गणेश नेपालीको मृत्युको घटनापछि विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा राज्यका निकायको जवाफदेहिताको माग गर्दै आएका छन्।