एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
रौतहट । रौतहटको गरुडा नगरपालिकासँग सम्बन्धित आर्थिक अनियमितताको आशंका उत्पन्न भएको घटनामा प्रहरीले एक कर्मचारीको घरमा छापा मारेर करोडौँ रुपैयाँ बराबरका चेक काट्ने कार्य रोकेको छ।
प्राप्त जानकारीअनुसार नगरपालिकाको कार्यालयमा नियमित रूपमा काम नगरी उपसचिव निलम न्यौपाने, लेखापाल सत्यनारायण सहनी तथा कर्मचारी प्रवीण झा को घरमै बसेर विभिन्न उपभोक्ता समिति तथा आफन्तसँग सम्बन्धित फर्महरूको नाममा लाखौँदेखि करोडौँ रुपैयाँसम्मका चेक तयार पार्ने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
छापामारीका क्रममा चेक काट्ने कार्य भइरहेको अवस्थामा प्रहरी पुगेपछि उक्त प्रक्रिया तत्काल रोकिएको जनाइएको छ। प्रारम्भिक सूचनाअनुसार केही चेक सम्पन्न भइसकेका तथा केही चेक तयारीकै अवस्थामा रहेका थिए।
घटनापछि प्रहरीले बरामद भएका चेक तथा सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। चेक कुन–कुन योजनाका लागि तयार पारिएको थियो, ती योजनाको वास्तविक कार्य सम्पन्न भएको थियो वा थिएन, र रकम वितरण प्रक्रियामा कुनै अनियमितता भएको छ कि छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको बताइएको छ।
यस घटनाले स्थानीय तहमा आर्थिक पारदर्शिता, सार्वजनिक खर्चको निगरानी तथा सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। यद्यपि, सम्बन्धित निकायबाट यस विषयमा विस्तृत आधिकारिक विवरण सार्वजनिक हुन बाँकी रहेको छ।