काठमाडौं । काठमाडौंका सुकुम्बासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गएराति बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरू गम्भीर समस्यामा परेका छन्। पीडितहरूले सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए पनि तीन महिना बितिसक्दा समेत त्यसको कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
पीडितहरूका अनुसार शनिबार राति करिब १२ः४० बजेदेखि होल्डिङ सेन्टरमा बाढी पस्न थालेको थियो। अचानक पानी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू थप जोखिममा परेका छन्। बाढीका कारण अधिकांश परिवारको ओढ्ने–ओछ्याउने, लुगाफाटा, खाद्यान्न तथा दैनिक उपभोगका सामग्री भिजेर नष्ट भएका छन्।
पीडित दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन गर्नुको सट्टा सामान्य राहत वितरणमै सीमित रहेको आरोप लगाए। उनले आफूहरूलाई पहिले बसेको स्थानमा फर्किनसमेत नदिइएको गुनासो गर्दै बाढीका कारण रातभर जाग्राम बस्नुपरेको बताए।
उनले भने, “यो खालको बर्बरता कहिलेसम्म सहने? हामीसँग निमोनिया, मिर्गौला र अन्य दीर्घरोग भएका मानिस छन्। आफन्तलाई भेट्नसमेत दिइएको छैन। हामी अत्यन्तै पीडामा छौँ।”
अर्की पीडित कान्छीमाया घलानले सुतिरहेको बेला अचानक पानी पसेपछि छाता र मोबाइलबाहेक अन्य सामान जोगाउन नसकेको बताइन्। उनका अनुसार सुरक्षाकर्मीहरू राति करिब ३ बजे मात्र उद्धारका लागि पुगेका थिए।
उनले सरकारलाई लक्षित गर्दै भनिन्, “हामीलाई १५ दिनका लागि भनेर घर भत्काएर यहाँ ल्याइयो। तीन महिना बितिसक्दा पनि उचित व्यवस्थापन भएको छैन। हामी पनि नागरिक हौँ, हाम्रो पनि बाँच्ने अधिकार छ। हामी कसैको लालपुर्जा भएको जग्गा मिचेर बसेका थिएनौँ।”
अन्य पीडितहरूले पनि सरकारले आफूहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन नगरेको, बाढी आउने जोखिम भएको स्थानमै राखेको तथा आफ्ना समस्याप्रति संवेदनशील नदेखिएको आरोप लगाएका छन्। उनीहरूले तत्काल सुरक्षित आवास, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।
पीडित डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको दाबी गर्दै सुरक्षाकर्मी समयमै उद्धारका लागि नपुगेकाले आफैंले ज्यान जोगाउनुपरेको बताए।
होल्डिङ सेन्टरमा मुटु, मिर्गौला तथा दमका बिरामीसमेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको स्थानीयको भनाइ छ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन्। उनले बाढीबाट प्रभावित परिवारका लागि तत्काल खाना, ओछ्यान, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवाको व्यवस्था भइरहेको जानकारी दिँदै दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए।
थापाले भने, “बाढीले समस्या निम्त्याएको सत्य हो र यसको जिम्मेवारी राज्यले लिनुपर्छ। अहिले तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन व्यवस्थापनको उपाय खोज्ने काम भइरहेको छ।”
वर्षायाममा असुरक्षित अवस्थामै बस्न बाध्य भएका सुकुम्बासी परिवारहरूले तत्काल सुरक्षित आवास, क्षतिको उचित क्षतिपूर्ति तथा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले समयमै प्रभावकारी व्यवस्थापन नभए मानवीय संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।