×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसको नेतृत्वको सरकारले चुनावअघि गरेका प्रतिबद्धता र सरकारमा पुगेपछि लिएको धारणा एकअर्कासँग बाझिएको टिप्पणी गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले चुनावअघि र चुनावपछिका अभिव्यक्तिबीचको विरोधाभासलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्।

पोखरेलले चुनावका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ‘गोजीमा पैसा नभएका जनताले पनि सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ, यही हाम्रो एजेन्डा हो’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गरेका छन्। त्यसको विपरीत अहिले अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘३ हजार ५ सय रुपैयाँ बिमा शुल्क लिएर १ लाख रुपैयाँसम्मको उपचार गराउन सम्भव छैन’ भन्ने धारणा सार्वजनिक गरेको भन्दै उनले टिप्पणी गरेका छन्।

उनले वर्तमान सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने निर्णयलाई समेत व्यङ्ग्य गर्दै यसको भार अन्ततः तल्लो तहका नागरिकमाथि पर्ने बताएका छन्।

‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि?’ भन्दै पोखरेलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

उनले जनभावनाविपरीतका निर्णय र अभिव्यक्तिको जनस्तरबाट विरोध भइरहेका बेला पनि प्रधानमन्त्री बालेन्द्र शाहले ‘ढुक्क हुनुस्, देश बन्छ’ भन्ने प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै त्यसप्रति पनि व्यङ्ग्य गरेका छन्।

महासचिव पोखरेलको उक्त टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

Back to top