वीरगञ्ज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । भेटवार्ता मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो ।
एडिबी अध्यक्ष कान्डा प्रधानमन्त्री बालेनसँग द्विपक्षीय भेटवार्ता गर्ने पहिलो विदेशी बनेका छन् ।
विसं. २०८२ चैत १३ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन यसअघि कुनै पनि विदेशी नेतासँग द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिएनन् । उनले विदेशी राजदूतहरूलाई पनि एक्लै शिष्टाचार भेट दिएका छैनन् ।
विदेशी राजदूतहरूले उनीसँग दुई पटक सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकी उप तथा सहायक मन्त्रीहरू आउँदा पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् ।
भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेटवार्ताको लागि समय नदिएपछि मिस्रीले आफ्नो नेपाल भ्रमण स्थगित गरेका थिए । प्रधानमन्त्रीले प्रोटोकल मिचेर भेटवार्ता नगर्ने भन्दै समकक्षीहरूसँग मात्र भेटवार्ता गर्ने अडान लिँदै आएका छन् ।