एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा सार्वजनिक बजेटबाट खरिद गरिएको सामग्रीको विवरण माग्न पुगेका स्थानीय युवामाथि दुर्व्यवहार भएको आरोप लागेको छ।
स्थानीय युवाहरूका अनुसार मठ–मन्दिरका लागि विनियोजन गरिएको करिब ५ लाख रुपैयाँको बजेटबाट खरिद गरिएका माइक, स्पिकरलगायत सामग्रीको लागत, खरिद प्रक्रिया तथा सम्बन्धित विवरण माग्न नगरपालिकामा पुगेका थिए। सोही क्रममा उपमेयर सुश्मा कुशवाहाका श्रीमान् विक्की कुशवाहा र नगरपालिकाका एक पिउनले अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ।
युवाहरूले सार्वजनिक बजेटबाट खरिद गरिएका सामग्रीबारे जानकारी माग्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै विवरण उपलब्ध गराउनुको सट्टा दुर्व्यवहार गरिएको दाबी गरेका छन्।
घटनापछि बहुदरमाई नगरपालिकाको कार्यशैली तथा सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिताको विषयलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।