×

वीरगञ्ज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला सम्पन्न भएको छ। आदर्शनगरस्थित त्रिशला होटलमा आयोजित भेलामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

रन्दीप श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जेन–जि आन्दोलनको मर्म, सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन युवाहरू एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सुधीर पटेलको पक्षमा जनस्तरमा व्यापक अभियान सञ्चालन गर्न आग्रह गरे।

भेलामा विभिन्न वडाका प्रतिनिधिहरूले यसपटक वीरगञ्जमा नयाँ नेतृत्वको आवश्यकता रहेको धारणा राखे। उनीहरूले अवसरवादी राजनीति गर्ने तथा व्यक्तिगत स्वार्थका लागि मात्रै चुनावमा होमिने प्रवृत्तिको विरोध गर्दै त्यस्ता व्यक्तिहरूलाई राजनीतिक तथा सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने बताएका थिए।

वक्ताहरूले विगतमा ठेकेदार तथा व्यापारी वर्गको प्रभावमा नेतृत्व चयन हुने क्रम दोहोरिएको उल्लेख गर्दै यसपटक वीरगञ्जवासीले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै अब स्थानीय तहको निर्वाचनमार्फत पनि परिवर्तनको लहर सिर्जना गर्नुपर्ने बताए। उनले वीरगञ्जलाई ठेकेदार तथा व्यापारी केन्द्रित राजनीतिक प्रभावबाट मुक्त गराउन सम्पूर्ण नगरवासीलाई सक्रिय रूपमा अभियानमा सहभागी हुन आह्वान गरे।

कार्यक्रममा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ, एम.डी. ओसामालगायतले मन्तव्य व्यक्त गर्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन अध्यक्ष रन्दीप श्रीवास्तवले गर्दै युवा शक्ति नै परिवर्तनको मुख्य आधार भएको उल्लेख गरेका थिए। उनले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क अभियान तथा घरदैलो कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

Back to top