×

वीरगञ्ज । मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय, जनकपुरधामको आयोजनामा रोजगार प्रवर्द्धन तथा स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले वीरगञ्जमा एकदिने सहकार्य गोष्ठी शुक्रबार सम्पन्न भएको छ।

गोष्ठीमा मधेस प्रदेश सरकार र स्थानीय तहअन्तर्गत रहेका रोजगार सेवा केन्द्रबीचको भूमिका, सम्बन्ध तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, श्रम बजार व्यवस्थापन, तथ्याङ्क सङ्कलन तथा रोजगारसम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहकार्यका विषयमा सहभागीहरूले धारणा राखेका थिए।

कार्यक्रममा पर्सा र बारा जिल्लाका रोजगार संयोजकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहमा आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट खर्च गर्ने उद्देश्यले हतार–हतार सीपमूलक तालिम सञ्चालन गर्ने प्रवृत्तिले अपेक्षित उपलब्धि हासिल हुन नसकेको गुनासो गरेका थिए।

उनीहरूले कुनै पनि व्यक्तिलाई दक्ष, सक्षम र आत्मनिर्भर बनाउन कम्तीमा छ महिनाको गुणस्तरीय सीपमूलक तालिम आवश्यक पर्ने उल्लेख गर्दै छोटो अवधिका तालिमले दीर्घकालीन रोजगारी सिर्जना गर्न नसक्ने धारणा राखे। योजनाबद्ध रूपमा प्रभावकारी सीप विकास कार्यक्रम सञ्चालन गरिए मात्र रोजगारीको अवसर वृद्धि हुने उनीहरूको भनाइ थियो।

सहभागीहरूले मधेस प्रदेशमा बारम्बार श्रम तथा यातायात मन्त्रालयको नेतृत्व परिवर्तन हुँदा स्थानीय तहमा सञ्चालित कार्यक्रम प्रभावित हुने गरेको गुनासोसमेत गरेका थिए। स्थानीय तहबाट सङ्कलन गरिएका तथ्याङ्क तथा समस्या समाधानका लागि मन्त्रालयमा पटक–पटक आवश्यक कागजात पठाइए पनि मन्त्री परिवर्तनका कारण ती विषय कार्यान्वयनमा जान नसकेको उनीहरूको भनाइ थियो। रोजगार संयोजकहरूले आफ्ना सुझाव तथा समस्या श्रम तथा यातायात मन्त्री शारदादेवी थापासमक्ष प्रस्तुत गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले रोजगार प्रवर्द्धनका लागि स्पष्ट कार्ययोजना, ठोस नीति तथा आवश्यक कानुनी व्यवस्था निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्थानीय तहका कार्यक्रमहरूमा महिलाको सहभागिता अपेक्षाकृत न्यून रहेको विषय मन्त्रालयको गम्भीर चासोको विषय भएको बताइन्।

मन्त्री थापाले मधेस प्रदेशका आठवटै जिल्लामा सञ्चालन गरिएका रोजगारसम्बन्धी कार्यक्रमहरूमा महिलाको सहभागिता कम देखिएको उल्लेख गर्दै यसको कारण अध्ययन गरी महिलाको सहभागिता वृद्धि गर्न आवश्यक पहल गरिने जानकारी दिइन्। साथै, गोष्ठीमा उठेका सुझावलाई छलफलमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

कार्यक्रम श्रम तथा यातायात मन्त्रालयका सचिव रञ्जीत यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्रालयका उपसचिव धनञ्जयकुमार सिंहले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण मधेस प्रदेशका रोजगार संयोजक आलोककुमार कर्णले गरेका थिए।

गोष्ठीमा सहभागीहरूले रोजगार सिर्जना, सीप विकास तथा स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाएर बेरोजगारी न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

Back to top