×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । मधेस प्रदेश सरकारले होटल तथा रेस्टुरेन्टमा खाद्य सुरक्षाको अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको बजार अनुगमन अभियानअन्तर्गत धनुषाका विभिन्न होटलमाथि कारबाही गरेको छ। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले १० वटा होटलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अखाद्य तथा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरिएको, सरसफाइमा गम्भीर लापरबाही गरिएको तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन भएको भेटिएपछि सम्बन्धित होटल सञ्चालकमाथि आर्थिक जरिवाना गरिएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैह्रेका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार रुपैयाँ, बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, रोयल सम्राट होटललाई ५ हजार रुपैयाँ तथा बर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ। कसुरको प्रकृतिअनुसार थप कानुनी प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।

अनुगमनपछि गृहमन्त्री महतोले उपभोक्ताको स्वास्थ्यसँग कुनै पनि हालतमा खेलबाड नगर्न होटल व्यवसायीलाई चेतावनी दिए। उनले बाध्यता वा रहरले होटलमा भोजन गर्न पुग्ने नागरिकलाई गुणस्तरीय, स्वच्छ र सुरक्षित खाना उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै नियमविपरीत कार्य गर्ने होटलमाथि कारबाहीलाई निरन्तरता दिइने बताए।

उनका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको लालगढ र ढल्केवर क्षेत्रबाट सुरु गरिएको होटल अनुगमन अभियान अब मधेस प्रदेशका अन्य जिल्लामा पनि विस्तार गरिनेछ।

होटलमा गुणस्तरहीन खाद्य सामग्री प्रयोग गर्ने व्यवसायीमाथि कारबाही सुरु भएपछि स्थानीय उपभोक्ताले अभियानको स्वागत गरेका छन्। नियमित अनुगमनले खाद्यजन्य जोखिम न्यूनीकरण, उपभोक्ता अधिकार संरक्षण तथा होटल व्यवसायलाई थप जिम्मेवार र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

यद्यपि, केही स्थानीयले अभियानलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। केही दिनअघि जनकपुरधाममा सुरु गरिएको अतिक्रमण हटाउने अभियान प्रभावहीन बनेको उदाहरण दिँदै उनीहरूले होटल अनुगमन पनि सुरुआतमै सीमित नभई नियमित हुनुपर्ने बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ का सर्वनाथ झाले खाद्य सुरक्षा सुनिश्चित गर्न नियमित, निष्पक्ष र प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। युवा नागरिक समाजका अगुवा सरोजकुमार मिश्राले पनि गृहमन्त्री महतोले सुरु गरेको अभियान सकारात्मक भएको उल्लेख गर्दै सम्बन्धित निकायले यसको निरन्तरता सुनिश्चित गर्नुपर्ने धारणा राखे।

 

Back to top