×

सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रूपमा ओसारपसार भइरहेका करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष गस्ती तथा कडा निगरानीका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका तथा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका मोटरसाइकल, किराना सामान तथा मदिरा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूको अनुमानित मूल्य करिब ११ लाख १० हजार ४२५ रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप प्रभावकारी बनाइएको बताए। उनले बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि नियमित रूपमा विशेष गस्ती र निगरानी अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

Back to top