बारा । बाराको सिमरास्थित सूर्य नेपाल प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयलाई सात थान नयाँ स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। यस सहयोगले विद्यालयको शिक्षण–सिकाइ प्रणालीलाई थप आधुनिक, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजित विशेष कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शङ्कर आचार्यलाई सात वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्थापक श्रेष्ठले वर्तमान प्रतिस्पर्धात्मक युगमा कम्प्युटर तथा डिजिटल सीप विद्यार्थी र शिक्षक दुवैका लागि अपरिहार्य बनेको बताए। सूचना प्रविधिको तीव्र विकाससँगै विद्यालयको शिक्षण प्रणाली पनि डिजिटल माध्यममा रूपान्तरण हुन आवश्यक रहेको उल्लेख गर्दै उनले कृत्रिम बौद्धिकता (एआई), च्याटजीपीटी, जेमिनी तथा क्लाउड प्रविधिजस्ता आधुनिक उपकरणले विश्वभर शिक्षा र कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याइरहेको बताए।
सूर्य नेपालले नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयसँगै यस क्षेत्रका अन्य पाँच वटा शिक्षण संस्थालाई पनि प्रविधिमैत्री बनाउन सहयोग गरेको जनाएको छ। कम्पनीका अनुसार सिमरा कलेजलाई चार वटा तथा जनता माध्यमिक विद्यालय, रजघट्टा माध्यमिक विद्यालय, डुमरवाना माध्यमिक विद्यालय र पथलैया माध्यमिक विद्यालयलाई जनही दुई–दुई वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको छ।
कम्पनीले यसअघि पनि नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा प्रशासनिक भवन निर्माण, जीवविज्ञान प्रयोगशाला स्थापना, कम्प्युटर वितरण तथा सात वटा स्मार्ट बोर्ड सहयोग गरिसकेको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने र हरियाली प्रवर्द्धन गर्ने कार्यसमेत सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक शङ्कर आचार्यले स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठाको शिक्षण–सिकाइलाई थप अन्तरक्रियात्मक, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने विश्वास व्यक्त गरे। अडियो, भिडियो तथा डिजिटल प्रस्तुतीकरणमार्फत अध्यापन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार आउने उनको भनाइ थियो।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका प्रतिनिधि यज्ञबहादुर आले, उमेश थापा, विद्यालयका शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सूर्य नेपालको यस सहयोगले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा डिजिटल शिक्षाको विस्तार तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।