वीरगञ्ज । सामाजिक सेवामा सक्रिय वीरगञ्ज कपडा बैंकले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जको घण्टाघरमा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले प्रत्येक महिनाजस्तै यसपटक पनि विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई नयाँ तथा पुराना गरी करिब ८ सय थान कपडा वितरण गरेको हो।
वीरगञ्ज–८ स्थित कार्यालयबाट बैंकले प्रत्येक आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। सोही अभियानअन्तर्गत शुक्रबार घण्टाघरस्थित स्वर्गीय रामजनम तिवारी बाबाको सालिक परिसरमा विशेष वितरण कार्यक्रम आयोजना गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्रले जानकारी दिए।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सरदार जसपाल सिंह, बीपीएस प्लस टु कलेजका सञ्चालक दीपक पटेल, ज्ञान निकेतन स्कुलका निर्देशक किशन सिंह, समाजसेवी गौरी गुप्ता, कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत, युवा समाजसेवी हुकुम सिंह राजपूत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, घण्टाघर प्रहरी पोस्टका प्रमुख असई महेन्द्रकुमार चौधरी, सञ्चारकर्मी तथा बैंकका पदाधिकारी, सदस्य र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले “कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यलाई आत्मसात गर्दै वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको उल्लेख गरे। उनले बैंकले नियमित रूपमा कार्यालयमार्फत कपडा वितरण गर्नुका साथै आगलागी, बाढी तथा अन्य विपद्का बेला प्रभावित परिवारको घरदैलोमै पुगेर लत्ताकपडा तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताए।
उनले प्रत्येक नागरिकले आफ्नो आम्दानीको कम्तीमा ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिँदै बैंकको अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबाबु सिंहले वीरगञ्ज कपडा बैंकको मानवीय अभियानलाई निरन्तर साथ र सहयोग पुर्याउने सबै दाता, सल्लाहकार, शुभेच्छुक, पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरे। उनले विशेष रूपमा कार्यक्रम व्यवस्थापनमा ध्वनि प्रणाली (स्पिकर तथा माइक) उपलब्ध गराई सहयोग गरेको बीपीएस प्लस टु कलेजप्रति पनि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।