वीरगञ्ज । पर्साको ठोरी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि सशस्त्र प्रहरी बलले कडाइ गरेपछि सयौं भारतीय पर्यटक सीमामै रोकिएका छन्। यसका कारण ठोरी क्षेत्रको पर्यटन व्यवसाय प्रभावित भएको भन्दै स्थानीय पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।
ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार शुक्रबारदेखि ठोरीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले भारतीय नम्बरका मोटरसाइकल तथा चारपांग्रे सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको छ। त्यसपछि भारतीय पर्यटकहरू आफ्ना सवारीसाधनसहित ठुटेखोला पुलपारि सीमाक्षेत्रमै रोकिएका छन्।
नेपाल प्रवेश गर्न नपाएका पर्यटकका लागि सीमाबाट ठोरी बजारसम्म पुग्ने सार्वजनिक सवारीसाधनको समेत अभाव रहेकाले ठूलो संख्यामा भारतीय पर्यटक अलपत्र परेको थापाले बताए।
भारतीय पर्यटकका सवारीसाधन प्रवेशमा रोक लगाएपछि ठोरीका पर्यटकीय गन्तव्य, होटल तथा रिसोर्टहरूमा चहलपहल घटेको स्थानीय व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार ठोरी क्षेत्रको पर्यटन मुख्य रूपमा भारतीय पर्यटकमै निर्भर रहेको छ।
पर्यटन व्यवसायीका अनुसार ठोरी क्षेत्रमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। तर भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाएपछि पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ। ठोरीको प्रमुख पर्यटकीय क्षेत्र करिब चार किलोमिटरको सीमित दायराभित्र रहेकाले भारतीय पर्यटकलाई आफ्नै सवारीसाधनसहित प्रवेश गर्न सहज वातावरण आवश्यक रहेको उनीहरूको भनाइ छ।
सञ्चालक थापाका अनुसार सशस्त्र प्रहरीले भारतीय सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय माथिल्लो निकायको निर्देशनअनुसार गरिएको जनाएको छ। यसअघि पनि ठोरी नाकाको सञ्चालन तथा भन्सार व्यवस्थापनसम्बन्धी समस्याका कारण स्थानीय पर्यटन व्यवसाय प्रभावित भएको थियो। पर्यटनमैत्री नीति अवलम्बन गर्ने सरकारी प्रतिबद्धताबीच सीमामै पर्यटकलाई रोक्नुले पर्यटन प्रवर्द्धनसम्बन्धी नीतिमाथि प्रश्न उठाएको व्यवसायीहरूको भनाइ छ।
यता, सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीले ठोरी नाका मात्र नभई जिल्लाका भिस्वा, धोरेलगायत अन्य नाकाहरूमा पनि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै कडाइ गरिएको जानकारी दिए।
उनका अनुसार बिना आवश्यक अनुमति भारतीय सवारीसाधन निर्वाध रूपमा नेपाल प्रवेश गर्ने तथा केही अवस्थामा सुरक्षा चुनौतीसमेत देखिन सक्ने भएकाले सीमामा निगरानी र नियन्त्रण कडा पारिएको हो।
यस घटनापछि पर्यटन व्यवसायीहरूले सुरक्षा व्यवस्थासँगै पर्यटन प्रवर्द्धनलाई पनि सन्तुलित रूपमा अघि बढाउने नीति अपनाउन सरकारसँग आग्रह गरेका छन्। उनीहरूले सीमावर्ती क्षेत्रको पर्यटनलाई संरक्षण गर्न सम्बन्धित निकायबीच समन्वय गरी व्यावहारिक समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।