×

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानका आधारभूत समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य आधार भएको उल्लेख गरेका छन्। श्रमजीवी किसानको मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको जग निर्माण हुने उनको भनाइ छ।

प्रचण्डले रोपाइँको मुख्य समयमा समेत किसानले सहज रूपमा मल, बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री प्राप्त गर्न नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कृषि उत्पादन वृद्धि गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

रोपाइँको व्यस्त समयमा किसानलाई आवश्यक सबै कृषि सामग्री समयमै उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि उत्पादन वृद्धि गर्ने नयाँ संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा उनले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

Back to top