बारा । बाराको कोल्हवी नगरपालिका–५ सखुवास्थित अतिक्रमणको जोखिममा रहेको करिब १० हेक्टर (झण्डै १५ बिघा) वन क्षेत्रमा वृक्षारोपण अभियान शुरू गरिएको छ। वन संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले कोल्हवी सबडिभिजन वन कार्यालय र तामागढी साझेदारी वन व्यवस्थापन समितिको संयुक्त पहलमा अभियान सञ्चालन गरिएको हो।
कोल्हवी सबडिभिजन वन कार्यालयका प्रमुख एवं वन अधिकृत कृष्णप्रसाद पटेलका अनुसार उक्त क्षेत्रमा झाडी सफा गर्ने, सिमेन्टका पोल र काँडेतारबाट घेराबार गर्ने तथा टीक, महगनी (मलेशियाली साल), अपला, अम्बा, इमलीलगायत विभिन्न प्रजातिका बिरुवा रोप्ने कार्य शुरू गरिएको छ।
वन कार्यालयका अनुसार राष्ट्रिय वन, साझेदारी वन तथा फास्ट ट्र्याक निर्माणका क्रममा कटान गरिएका रूखको क्षतिपूर्तिस्वरूप वृक्षारोपण गर्न छुट्याइएको वन क्षेत्रको दक्षिणतर्फ, बस्तीबाट करिब डेढ किलोमिटर उत्तर–पूर्वमा रहेको क्षेत्रमा विगतदेखि स्थानीयले खनजोत गरी खेती गर्दै आएका थिए। यसका कारण वन अतिक्रमण क्रमशः बढ्दै गएपछि वन क्षेत्र संरक्षणका लागि वृक्षारोपण अभियान अघि बढाइएको हो।
वन अधिकृत पटेलले स्थानीयवासीसँग पटक–पटक छलफल गरी मूर्दाघाट जाने बाटोका लागि १२ फिट चौडाइको मार्ग वन क्षेत्रभित्रै छुट्याइएको जानकारी दिनुभयो। बाँकी क्षेत्रमा सिमाना निर्धारण गरी १० हेक्टरमध्ये पहिलो चरणमा चार हेक्टर क्षेत्रफलमा ट्र्याक्टरले जोतेर वन प्रजातिका बीउ छर्ने कार्य बिहीबारदेखि शुरू गरिएको उहाँले बताउनुभयो।
तामागढी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र पनुहरका अनुसार वृक्षारोपण गरिएको क्षेत्रनजिक पैनी, जरुवा र सिमसार क्षेत्र रहेकाले केही वर्षपछि वन बाक्लो बन्दै जाँदा पानीका प्राकृतिक स्रोत संरक्षण हुने अपेक्षा गरिएको छ। यसबाट वन्यजन्तु, चराचुरुङ्गी तथा अन्य जीवजन्तुले गर्मीयाममा पानीको खोजीमा बस्ती पस्नुपर्ने अवस्था कम हुने र दक्षिणतर्फका खेतबारीमा सिंचाइका लागि समेत सहजता हुने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, डिभिजन वन कार्यालय बाराका प्रमुख सुजीतकुमार झाले जिल्लाका अन्य अतिक्रमित वन क्षेत्रको पनि पहिचान गरी खाली गराएर पुनः वृक्षारोपण गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले वन संरक्षण अभियानमा अवरोध पुर्याउने, अतिक्रमणकारीलाई उक्साउने वा कानूनविपरीत गतिविधिमा संलग्न हुने व्यक्तिलाई पक्राउ गरी प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो।
वन क्षेत्र संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने तथा प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यो अभियानले अतिक्रमण रोक्नुका साथै हरियाली प्रवर्द्धन र जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।