वीरगञ्ज । विद्यार्थीलाई गुणस्तरीय र व्यवहारमुखी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ एपेक्स व्यवस्थापन कलेजले स्नातक तहको व्यवस्थापन अध्ययनअन्तर्गत सञ्चालन गरिएका अतिरिक्त शैक्षिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कलेजले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी वास्तविक कार्यक्षेत्रसँग परिचित गराउने उद्देश्यले प्रत्येक अध्ययन अवधिमा तीन वटा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।
नियमित पठनपाठन, प्रस्तुतीकरण, बैंक तथा उद्योग अवलोकन भ्रमणलगायतका गतिविधिसँगै सञ्चालन गरिएका कार्यक्रमले विद्यार्थीको व्यावसायिक क्षमता, सञ्चार सीप, नेतृत्व विकास, प्राविधिक ज्ञान तथा व्यवहारिक अनुभव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कलेजका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार शैक्षिक सत्र २०८३ अन्तर्गत स्नातक तहको व्यवस्थापन अध्ययनको दोस्रो अध्ययन अवधिका दुई कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् । जेठ २३ गते प्रभावकारी सार्वजनिक वक्तृत्वकलासम्बन्धी कार्यशाला तथा असार १३ गते लेखा व्यवस्थापनसम्बन्धी कम्प्युटर प्रणालीको प्रयोगबारे कार्यशाला सम्पन्न गरिएको थियो ।
त्यसैगरी चौथो अध्ययन अवधिका विद्यार्थीका लागि कानुनी तथा प्रशासनिक प्रक्रियासम्बन्धी कार्यशाला पनि जेठ ३० गते सम्पन्न भएको कलेजले जनाएको छ ।
कलेजले सार्वजनिक गरेको तालिकाअनुसार चौथो अध्ययन अवधिका विद्यार्थीका लागि असार २७ गते प्रस्ताव तथा प्रतिवेदन लेखनसम्बन्धी कार्यशाला र साउन २३ गते उन्नत तथ्याङ्क व्यवस्थापन तथा विश्लेषणसम्बन्धी कार्यशाला सञ्चालन गरिनेछ । दोस्रो अध्ययन अवधिका विद्यार्थीका लागि साउन ९ गते व्यवसाय योजना निर्माणसम्बन्धी कार्यशाला आयोजना गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममार्फत विद्यार्थीलाई उद्योग, बैंकिङ, प्रशासन, उद्यमशीलता तथा विभिन्न व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने व्यवहारिक ज्ञान, सीप र आधुनिक प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिकाइ प्रदान गरिने कलेज प्रशासनले जनाएको छ ।
हरेक कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी उद्योगी, व्यवसायी तथा विषय विशेषज्ञलाई आमन्त्रण गरी उनीहरूको व्यवहारिक अनुभव विद्यार्थीसँग साझा गराउने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।
कलेजका अनुसार स्नातक तहको व्यवस्थापन अध्ययन गर्ने प्रत्येक विद्यार्थीले चार वर्षको अध्ययन अवधिमा कुल २४ वटा व्यावहारिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । यसबाट विद्यार्थीले शैक्षिक उपाधिसँगै रोजगारी, उद्यमशीलता तथा उच्च अध्ययनका लागि आवश्यक व्यावसायिक दक्षता हासिल गर्न सक्ने विश्वास गरिएको छ ।
कक्षा कोठाभन्दा बाहिर पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित कलेजले आगामी दिनमा समेत यस्ता सीपमूलक, व्यवहारिक तथा उद्योगमैत्री कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।