×

वीरगञ्ज । पर्सा प्रहरीले बन्धक बनाइएकी एक भारतीय युवतीलाई वीरगञ्ज महानगरपालिका–२४ रमगढवाबाट उद्धार गरेको छ । घटनामा संलग्न भनिएका युवक भने फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतका अनुसार भारतको बिहार राज्य मोतिहारी घर बताइएकी अन्दाजी २५ वर्षीय निमुत कुमारीलाई सोही राज्यको छपरा घर भएका अन्दाजी २५ वर्षीय चन्दन कुमारले गत अप्रिल २ तारिखदेखि बन्धक बनाई वीरगञ्ज–२४ रमगढवामा राखेको भन्ने सूचना प्राप्त भएको थियो ।

प्रहरीका अनुसार बन्धक अवस्थामा रहेकी कुमारीले आफ्ना बुबा धर्मेन्द्र कुमार शर्मालाई मोबाइलमार्फत सम्पर्क गरी आफूलाई जबरजस्ती राखिएको जानकारी गराएकी थिइन् । त्यसपछि उनका बुबाले ‘आफन्त नेपाल’ पर्सामार्फत तथा स्थानीय व्यक्तिहरूमार्फत इलाका प्रहरी पोस्ट रानीघाटमा खबर गराएका थिए ।

उक्त सूचनाको आधारमा असार १५ गते बिहान करिब ३ बजे प्रहरी सहायक निरीक्षक रामकुमार थिङको कमान्डमा प्रहरी टोली खटिएको थियो । स्थानीयवासी र ‘आफन्त नेपाल’को समन्वयमा रमगढवास्थित एक घरमा पुगेर प्रहरीले कुमारीलाई सकुशल उद्धार गरेको हो ।

उद्धारपश्चात् युवतीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ‘आफन्त नेपाल’लाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । हाल उनी सुरक्षित अवस्थामा रहेको जनाइएको छ ।

घटनामा संलग्न भनिएका चन्दन कुमार फरार रहेका छन् । उनको खोजतलास तीव्र पारिएको र नियन्त्रणमा लिएपछि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी बस्नेतले जानकारी दिए ।

उक्त स्थान इलाका प्रहरी पोस्ट रानीघाटबाट करिब एक किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ । प्रहरीले मानव बेचबिखन, अपहरण वा जबरजस्ती बन्धकजस्ता घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेको छ ।

Back to top