×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । अत्यधिक गर्मीका बीच नेपाल विद्युत् प्राधिकरण पर्सा वितरण केन्द्रले रातिको समयमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध गर्न थालेपछि वीरगञ्जका सर्वसाधारण समस्यामा परेका छन्। कुनै पूर्वसूचना वा जानकारीबिना रातिको समयमा लामो समयसम्म विद्युत् अवरोध हुने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

स्थानीयवासीका अनुसार पछिल्ला केही दिनयता रातिको समयमा दैनिकजसो पाँचदेखि सात घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ। विशेषगरी अत्यधिक गर्मीका कारण रातिको समयमा विद्युत् सेवा अत्यावश्यक हुने अवस्थामा लामो समयसम्म बत्ती नआउँदा सर्वसाधारण, ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामी बढी प्रभावित भएका छन्।

रानीघाट, आदर्शनगर, छपकैया लगायतका वीरगञ्जका विभिन्न क्षेत्रमा दैनिकजसो विद्युत् अवरोध हुने गरेको स्थानीयको गुनासो छ। नियमित रूपमा विद्युत् कटौती हुँदा दैनिक जीवन, अध्ययन, व्यवसाय तथा विद्युतीय उपकरणको प्रयोगसमेत प्रभावित भएको उनीहरू बताउँछन्।

स्थानीयले यदि मर्मत, स्तरोन्नति वा अन्य प्राविधिक कारणले विद्युत् सेवा अवरुद्ध गर्नुपर्ने अवस्था भए त्यसबारे पूर्वसूचना दिनुपर्ने माग गरेका छन्। कुनै जानकारीबिनै लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा नागरिकले अनावश्यक सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।

सर्वसाधारणले नेपाल विद्युत् प्राधिकरण पर्सा वितरण केन्द्रसँग विद्युत् अवरोधको कारणबारे स्पष्ट जानकारी गराउन, आवश्यक परे पूर्वसूचना जारी गर्न तथा अत्यधिक गर्मीको समयमा नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्।

Back to top