×

वीरगञ्ज । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार जना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उपस्थित भएपछि राजनीतिक वृत्तमा यसको व्यापक चर्चा सुरु भएको छ।

मदन भण्डारी प्रतिष्ठानले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी भएका थिए। उनीहरू चारै जना नेपालका पूर्वप्रधानमन्त्री हुन्। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन्।

चार पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति एउटै मञ्चमा देखिएपछि यसलाई वामपन्थी शक्तिहरूबीच सहकार्यको सम्भावित संकेतका रूपमा राजनीतिक वृत्तले चासोपूर्वक हेरेको छ।

यसअघि शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग संसद र सडक दुवै क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने वातावरण बनेको बताएका थिए।

उनले तत्काल दल एकीकरणको सम्भावना नरहे पनि आपसी सहकार्यका लागि आवश्यक वातावरण तयार भइसकेको र त्यसबारे छलफल सकारात्मक निष्कर्षतर्फ अघि बढेको बताएका थिए।

आफ्नो राजनीतिक यात्रामा पटक–पटक नयाँ मोड ल्याउँदै आएको स्मरण गराउँदै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ राजनीतिक मोड आउने दाबी गरेका थिए। उनले त्यसलाई आफ्नो राजनीतिक जीवनको अन्तिम ठूलो परिवर्तनको प्रयासका रूपमा उल्लेख गर्दै त्यसका लागि नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयार रहन आग्रह गरेका थिए।

Back to top