×

रक्सौल । भारतको राष्ट्रिय पोलियो उन्मूलन अभियानअन्तर्गत आइतबारदेखि सुरु भएको विशेष अभियानको शुभारम्भ रक्सौल रेल्वे स्टेशनको पहिलो प्लेटफर्मबाट गरिएको छ। असार १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने अभियानको औपचारिक उद्घाटन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको दुई थोपा औषधि खुवाइएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र रक्सौलका प्रमुख डा. राजीव रञ्जनको नेतृत्वमा आयोजित कार्यक्रममा रक्सौलका प्रखण्ड विकास पदाधिकारी जयप्रकाशले पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गर्नुभयो।

अभियानका क्रममा रेल्वे स्टेशनमा आवतजावत गर्ने यात्रुका पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाइएको थियो। साथै, अभिभावकलाई आफ्ना सबै साना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको औषधि खुवाउन आग्रह गरिएको थियो।

अभियानमा भारत विकास परिषद्, रक्सौल शाखाले पनि सक्रिय सहभागिता जनाएको थियो। परिषद्का सदस्यहरूले रेल्वे स्टेशनमा रहेका यात्रुहरूलाई आफ्ना पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाउन अनुरोध गर्नुका साथै अभियानबारे जनचेतना फैलाएका थिए। पोलियो खोपसम्बन्धी भ्रम र गलत धारणालाई हटाउन परिषद्ले विशेष भूमिका निर्वाह गरेको थियो। सदस्यहरूले पोलियोविरुद्धको दुई थोपा औषधि पूर्ण रूपमा सुरक्षित रहेको र प्रत्येक अभियानमा सबै बालबालिकालाई अनिवार्य रूपमा खुवाउनुपर्ने जानकारी दिएका थिए।

कार्यक्रममा स्टेशन अधीक्षक अजय राम, डा. एस. के. सिंह, डा. अमित जायसवाल, भारत विकास परिषद् रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी, परिषद्का सदस्य अजय कुमार, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य प्रबन्धक आशिष कुमारलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले पोलियोजस्तो गम्भीर रोगबाट बालबालिकालाई सुरक्षित राख्न प्रत्येक अभिभावकको सक्रिय सहयोग आवश्यक रहेको बताए। उनीहरूले अभियान अवधिभर पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको दुई थोपा औषधि अनिवार्य रूपमा खुवाई "हरेक बालबालिका सुरक्षित, पोलियोमुक्त भारत" बनाउने अभियानलाई सफल बनाउन सबैसँग अपिल गरे।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजीव रञ्जनले अभियानमा भारत विकास परिषद् रक्सौल शाखाले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै अभियान सफल बनाउन पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

Back to top