रक्सौल । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमासँग सम्बन्धित सुरक्षा तथा विकास परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले भारतको रक्सौलमा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ।
पूर्वी चम्पारणका जिल्ला अधिकारी (डीएम) र प्रहरी अधीक्षक (एसपी) को नेतृत्वमा ४७औँ सशस्त्र सीमा बल (एसएसबी) बटालियन क्याम्प, रक्सौलमा आयोजित संयुक्त बैठकमा एसएसबी, जिल्ला प्रशासन तथा प्रहरीका अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत सञ्चालनमा रहेका भीभीपी–२ (VVP-II) परियोजना, प्रस्तावित रक्सौल विमानस्थल, एसएसबीका लागि आवश्यक अतिरिक्त जग्गा अधिग्रहण तथा सीमावर्ती क्षेत्रमा सञ्चालित विभिन्न विकास योजनाको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो।
समीक्षाका क्रममा नो–म्यान्स ल्याण्ड तथा सीमा क्षेत्रबाट शून्यदेखि १५ किलोमिटरको दूरीभित्र रहेका सबै अतिक्रमणलाई प्राथमिकताका साथ हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। यसका लागि अनुमण्डल अधिकारी (एसडीएम), अनुमण्डल प्रहरी पदाधिकारी (एसडीपीओ) तथा अञ्चल अधिकारी (सीओ) लाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको भारतीय प्रशासनले जनाएको छ।
बैठकपछि जिल्ला अधिकारी र प्रहरी अधीक्षकले प्रस्तावित रक्सौल विमानस्थल निर्माणस्थल तथा सिसवा पञ्चायतस्थित नो–म्यान्स ल्याण्डमा रहेको मन्दिरको स्थलगत निरीक्षणसमेत गरेका थिए। निरीक्षणका क्रममा स्थानीयवासी तथा जनप्रतिनिधिसँग समन्वय गरी सम्बन्धित संरचनाहरूलाई कानुनी प्रक्रिया पूरा गर्दै यथाशीघ्र हटाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
त्यसैगरी, सैनिक सडक क्षेत्रमा रहेका सबै अतिक्रमण तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
भारत–नेपालबीचको प्रमुख व्यापारिक तथा आवागमन नाका मानिने रक्सौल क्षेत्रमा सीमा सुरक्षा, पूर्वाधार विकास तथा प्रस्तावित विमानस्थल निर्माणलाई तीव्रता दिन भारतीय प्रशासनले थालेको पछिल्लो सक्रियतालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।